विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजले राजीनामा दिए
जनकपुर : सर्वोच्च अदालतको आदेश अनुसार २४ घण्टामा बहुमत लिन नसकेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्।
बुधवार विश्वासको मत लिन मधेस प्रदेश सभाको बैठक राखिएको थियो। तर आफ्नो पक्षमा विश्वासको मत नआउने देखेपछि उनले बैठकमा आफ्नो भनाइ राखेर राजीनामा दिने घोषणा गरे।
मुख्यमन्त्री यादवले बैठकमा बोल्दा अन्य दलका सांसदहरू भने हल बाहिर निस्किएका थिए। उनले सभामा सात दलको आलोचना गर्दै उनीहरूको गतिविधि असंवैधानिक, अराजक र अशोभनीय रहेको दाबी गरेका थिए।
सरकार गठन गर्न आव्हानै नगरी प्रदेश प्रमुखले उनलाई होटेलमा मुख्यमन्त्रीको शपथ गराएपछि सुरु भएको आलोचनामा प्रदेश प्रमुख र सभामुखसम्मको पद गुमेको थियो।
यादवको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन आदेश आएको थियो।
मंसिर १७, २०८२ बुधबार १५:५२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।