१५ दिनमा पन्ध्रै हजारले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंसिर महिनाकै उच्च विन्दुमा पुगेको छ।
मंगलबार प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ५४ हजार १०० रुपैयाँ पुगेको छ।
मंसिर महिनाको तथ्यांक हेर्दा यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंसिर १५ गते सुनको मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको थियो। यो महिना सुनको मूल्य सबैभन्दा कम मंसिर २ गते २ लाख ३९ हजार ५०० रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ११० रुपैयाँले बढेको छ।
मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ। यो मूल्य पनि मंसिर महिनाकै सर्वाधिक हो।
मंसिर महिनाको १ गते ३ हजार १५५ रुपैयाँ रहेको चाँदीको मूल्य १७ दिनको अवधिमा ५०० रुपैयाँले बढिसकेको छ।
मंसिर १७, २०८२ बुधबार १२:३८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।