लिपमोटरको नयाँ रेकर्ड, नोभेम्बरमा मात्र ७० हजार बढी गाडी वितरण
काठमाडौं : स्टेलान्टिसको साझेदारी रहेको चिनियाँ विद्युतीय सवारी उत्पादक लिपमोटरले नोभेम्बर महिनामा कीर्तिमानी व्यापार गरेको छ।
कम्पनीले नोभेम्बरमा मात्रै ७० हजार ३ सय २७ वटा सवारी साधन वितरण गर्दै नयाँ मासिक रेकर्ड कायम गरेको हो। यो लगातार सातौँ महिना हो, जसमा कम्पनीले आफ्नै बिक्री रेकर्ड तोडेको छ।
नोभेम्बरको वितरण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो। सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्ममा कम्पनीले कुल ५ लाख ३६ हजार १ सय ३२ युनिट गाडी वितरण गरिसकेको छ, जुन गत वर्षको तुलनामा ११३ प्रतिशतले बढी हो।
कम्पनीले २०२५ को सुरुवाती लक्ष्य ५ लाख युनिट पार गरिसकेको छ। अब यो वर्षको कुल लक्ष्य ५ लाख ८० हजारदेखि ६ लाख ५० हजार युनिट पुर्याउने कम्पनीले जनाएको छ। साथै, सन् २०२६ सम्ममा वार्षिक १० लाख गाडी बिक्री गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ।
यो सफलतामा लिपमोटरका नयाँ र विस्तारित मोडेलहरूको ठूलो भूमिका छ। जसमा नयाँ ‘लाफा ५’ इलेक्ट्रिक ह्याचब्याक, ‘ए१०’ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी र ८० किलोवाट आवर ब्याट्री प्याक भएको फ्ल्यागशिप ‘डी१९’ एसयूभी समावेश छन्।
आगामी डिसेम्बर २८ मा आफ्नो १०औं वार्षिकोत्सव मनाउन लागेको लिपमोटरले नेपालसहित विश्व बजारमा उच्च गुणस्तरका र उन्नत प्रविधियुक्त विद्युतीय सवारी साधन ल्याउने प्रतिबद्धता जनाएको छ।
मंसिर १७, २०८२ बुधबार १२:२९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।