हेटौंडामा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सडकमा बिग्रिएर रोकिराखेको ना ५ ख ३५८७ नम्बरको कन्टेनरमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ गैरीभञ्याङ बस्ने ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको छ। दुर्घटनालगत्तै गम्भीर घाइते भएका अधिकारीलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले राति १२:१० बजे मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार लमजुङको बेसीसहर नगरपालिका-१० पासाचौर बस्ने ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन्। उनको टाउको, बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते गुरुङको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार दुर्घटनापछि फरार रहेका कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका-२ बस्ने २४ वर्षीय राजवली राम आज बिहान १ बजे प्रहरीको सम्पर्कमा आएका थिए। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर बुझाइएको छ।
दुर्घटना भएको कन्टेनरलाई क्रेनको सहयोगमा हटाई आज बिहान ४ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
मंसिर १७, २०८२ बुधबार ११:१६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।