मधेशमा मुख्यमन्त्रीको हठ : बिहानको बैठकमा अनुपस्थित भएपछि विश्वासको मत लिने समय २ बजे सारियो

मधेशमा मुख्यमन्त्रीको हठ : बिहानको बैठकमा अनुपस्थित भएपछि विश्वासको मत लिने समय २ बजे सारियो

एजेन्सी : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभाको बैठक निर्धारित समयभन्दा ढिलो हुने भएको छ।

मुख्यमन्त्री यादवले आफूले माग गरेबमोजिम दिउँसो २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बिहानको बैठक स्थगित गरी सारिएको हो।

प्रदेशसभा सचिवालयले आज बिहान ८:३० बजेका लागि बैठक आह्वान गरेको थियो। तर, मुख्यमन्त्री यादवसहित एमालेका अधिकांश सांसदहरू बैठकमा उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी छन्।

बिहान साढे ८ बजे विपक्षी गठबन्धन (कांग्रेस, जसपा, माओवादी, लोसपा, जनमत लगायत) का सांसदहरू प्रदेशसभा हलमा उपस्थित भइसकेका थिए। एमालेका पनि केही सांसदहरू देखिएका थिए, तर मुख्यमन्त्री यादव भने १०:३० बजेसम्म पनि प्रदेशसभामा आएनन्।

मंगलबार साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बिहान ८:३० बजे बैठक बस्ने निर्णय गरेको थियो। तर, मुख्यमन्त्री यादवले सो समयलाई अस्वीकार गर्दै आएका थिए।

मुख्यमन्त्री यादवले आफूले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन सचिवालयलाई पत्राचार गरेको बताएका छन्। उनले उपसभामुखले दलहरूको उक्साहटमा बिहानै बैठक राखेको आरोप लगाए।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिन्थ्यो। तर यसपटक मैले पठाएको पत्रलाई बेवास्ता गर्दै उपसभामुखले विपक्षी दलहरूको उक्साहटमा बिहानै बैठक राख्नुभयो’, मुख्यमन्त्री यादवले भने।

मुख्यमन्त्रीको यही अडान र अनुपस्थितिपछि उपसभामुख ईशरले पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर मुख्यमन्त्रीले मागेकै समयअनुसार दिउँसो २ बजे बैठक बस्ने निर्णय सुनाएकी हुन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। उनले विश्वासको मत नपाए धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न अदालतले आदेश दिएको छ।

मुख्यमन्त्री यादवले अदालतको पत्र मंगलबार दिउँसो मात्र पाएको भन्दै २४ घण्टाको समयसीमा आज दिउँसो २ बजेसम्म रहने तर्क गर्दै आएका छन्।

गत कात्तिक २४ गते एमाले संसदीय दलका नेता यादवलाई तत्कालीन प्रदेश प्रमुखले हतारमा बर्दिबासको एक होटलमा नियुक्ति र शपथ गराएकी थिइन्, जसलाई लिएर विपक्षी ७ दल अदालत गएका थिए।

हाल मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवको पक्षमा एमालेका २४ सांसद मात्र छन् भने विपक्षमा ७४ सांसद रहेकाले उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन।

मंसिर १७, २०८२ बुधबार १०:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।