आज र भोलि चिसो बढ्ने, पर्सिदेखि मौसम घमाइलो

आज र भोलि चिसो बढ्ने, पर्सिदेखि मौसम घमाइलो

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम मुख्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ। राति भने देशभरको मौसम सफा रहनेछ।

महाशाखाले उल्लेखनीय प्रणाली नभएको बताए पनि मौसमविद्हरूले कमजोर पश्चिमी वायुको सामान्य प्रभाव रहेको औंल्याएका छन्।

मौसमविद् तथा प्राध्यापक विनोद पोखरेलका अनुसार कमजोर पश्चिमी वायुको प्रभावले आज र भोलि देशका केही स्थानमा बादल लाग्ने सम्भावना छ। यद्यपि, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको उनले स्पष्ट पारेका छन्।

पोखरेल भन्छन्, ‘कमजोर पश्चिमी वायुको प्रभावले आज र भोलि केही ठाउँमा बादल लागे पनि वर्षाको सम्भावना छैन। आज र भोलि चिसो थोरै बढे पनि पर्सिदेखि मौसम घमाइलो हुनेछ।’

प्राध्यापक पोखरेलले आगामी साताको सुरुवातमै अर्को पश्चिमी वायुको प्रभाव देखिने पूर्वानुमान गरेका छन्। उनका अनुसार अर्को हप्ताको आइतबारदेखि पश्चिमी वायुको प्रभाव २-३ दिनसम्म रहनेछ। उक्त प्रणालीले चिसो बढाउने भए पनि वर्षा भने गराउने छैन।

महाशाखाले हालका लागि कुनै विशेष चेतावनी वा परामर्श जारी गरेको छैन।

मंसिर १७, २०८२ बुधबार ०९:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।