प्रहरीमा उजुरी परेपछि अभिनेता रणवीर सिंहले माफी मागे
एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहविरुद्ध हिन्दु जनजागृति समितिले उजुरी दर्ता गरेको छ। उनलाई धार्मिक भावनामा चोट पुर्याएको आरोप लागेको छ।
एक फिल्म फेस्टिभलमा रणवीरले 'कान्तारा' फिल्ममा देखाइएको चावुन्डी देवीलाई 'भूत' भनेको आरोप छ। उजुरी दर्ता भएपछि रणवीरले सार्वजनिक रूपमा माफी मागेका छन्।
रणवीर सिंहले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत माफी माग्दै लेखेका छन्, ‘मेरो उद्देश्य फिल्म कान्तारामा ऋषभको उत्कृष्ट अभिनयको चर्चा गर्नु थियो। एक अभिनेताका रूपमा मलाई थाहा छ कि त्यो विशेष दृश्य गर्न कति कडा मेहनत लाग्छ र यसका लागि म उहाँको धेरै सम्मान गर्छु। मैले सधैँ हाम्रो देशको हरेक संस्कृति, परम्परा र आस्थाको गहिरो सम्मान गरेको छु। यदि मेरो कुनै कुराले कसैको भावनामा ठेस पुगेको छ भने म हृदयदेखि नै माफी चाहन्छु।’
पीटीआईको रिपोर्ट अनुसार, हिन्दु जनजागृति समितिले गोवाको पणजी प्रहरीमा लिखित उजुरी दिँदै रणवीरविरुद्ध कडा कारबाहीको माग गरेको छ। समितिका सदस्यहरूले भारतीय दण्ड संहिता अन्तर्गत कारबाही हुनुपर्ने बताएका छन्।
उजुरीमा चामुन्डी दैव तुलु समुदायको पवित्र कुलदेवता भएको भनिएको छ। देवतालाई अपमानजनक तरिकाले प्रस्तुत गर्दा अशान्ति फैलिन सक्ने र धार्मिक भावनामा चोट पुग्न सक्ने उजुरीमा उल्लेख छ।
समितिले रणवीरले सार्वजनिक माफी माग्नुपर्ने र भविष्यमा यस्तो गल्ती नगर्ने वाचा गर्नुपर्ने माग पनि गरेको थियो। साथै, समितिले फिल्म फेस्टिभलका आयोजकहरूसँग देवता वा परम्पराको मजाक नउडाउने गरी आचारसंहिता बनाउन पनि अपिल गरेको छ।
किन भयो विवाद?
हालै रणवीर सिंह ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया’मा सहभागी भएका थिए।
सो क्रममा मञ्चमा उनले फिल्म ‘कान्तारा’का निर्देशक तथा अभिनेता ऋषभ सेट्टीसँग कुरा गर्दै भनेका थिए, ‘ऋषभ, मैले यो फिल्म हलमा हेरेको थिएँ। त्यो उत्कृष्ट अभिनय थियो, विशेष गरी जब त्यो ‘महिला भूत’ तपाईंको शरीरमा प्रवेश गर्छिन्।’
रणवीरले सो पात्रको मिमिक्री गर्दै मजाक पनि उडाएका थिए। उनले अगाडि भनेका थिए, ‘के यहाँ कोही छ जो मलाई कान्तारा-३ मा हेर्न चाहन्छ?’
कार्यक्रमको भिडियो भाइरल भएपछि मानिसहरूले रणवीरको आलोचना गरेका थिए। भिडियोमा मञ्चबाट ओर्लिएपछि पनि रणवीरले देवीको नक्कल गरेको र ऋषभ सेट्टीले उनलाई रोक्न खोजेको देखिएको थियो।
मंसिर १७, २०८२ बुधबार ०८:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।