बुटवलमा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमान् गम्भीर घाइते
बुटवल : बुटवलको नहरपुरमा घरायसी विवादका क्रममा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन्।
बुटवल उपमहानगरपालिका-११, नहरपुरकी ३८ वर्षीया पवित्रा गुरुङले आफ्ना ३० वर्षीय श्रीमान् सुरज गुरुङलाई चक्कु प्रहार गरेकी हुन्।
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार घटना गए राति २ बजेतिर भएको हो। चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको छ।
घटनालगत्तै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार श्रीमान-श्रीमतीबीच दिनहुँजसो झगडा हुने गरेको थियो। विवादकै कारण सुरज छुट्टै कोठामा सुतेका थिए। राति पवित्राले सुरज सुतेको कोठाको ढोका फोडेर चक्कु प्रहार गरेको स्थानीयले बताएका छन्।
बुटवल-११ का वडा सदस्य नकुल शाही ठकुरीका अनुसार आपसी झगडाले उग्र रूप लिँदा यो घटना घटेको हो। पवित्राले डिप्रेसनको औषधि सेवन गरिरहेको बुझिएको छ।
घाइते सुरज बुटवल उपमहानगरपालिकामा नगर प्रहरीका रूपमा कार्यरत छन्। उनीहरूको ७ वर्षीय एक छोरा छन्।
मंसिर १७, २०८२ बुधबार ०७:५०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।