एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० वटा विपद्का घटना दर्ता भएका छन्। जसमध्ये १७ वटा घटना आगलागीका मात्रै रहेका छन्।
प्राधिकरणका अनुसार अधिकांश आगलागी मानवीय असावधानीका कारण भएको पाइएको छ। गाईवस्तु तथा सुँगुरलाई खोले पकाउँदा, जाडो छल्न ग्यास हिटर ताप्दा र विद्युत् सर्ट हुँदा आगलागीका घटना भएका हुन्। यसका साथै, विद्युतीय सवारी साधनमा अचानक आगलागी भएको घटना पनि दर्ता भएको छ।
आगलागीका कारण ८२ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्लागत रूपमा हेर्दा सिरहामा तीन र भोजपुरमा दुई स्थानमा आगलागी भएको छ। यसबाहेक पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा पनि आगलागीका घटना भएका छन्।
आगलागी बाहेकका तीन घटनामा मुस्ताङमा लेक लाग्ने, महोत्तरीमा सर्पदंश र पर्सामा वन्यजन्तु आक्रमण रहेका छन्। पर्साको पर्सागढी नगरपालिका–३, झुलिटारमा घाँस काट्न जङ्गल गएकी ५५ वर्षीया महिलालाई बाघले आक्रमण गरी घाइते बनाएको छ।
प्राधिकरणको विवरणले सामान्य सावधानी अपनाउँदा पनि ठूलो जनधनको क्षति रोक्न सकिने भए पनि जनचेतनाको अभावमा यस्ता घटना दोहोरिरहेको देखाएको छ।
मंसिर १७, २०८२ बुधबार ०७:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।