कांग्रेसमा बदलिँदै गुट समीकरण, सभापति बन्न देउवा क्याम्प पुगेका सशांक शेखर क्याम्पमा !
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय भएसँगै नेताहरू महाधिवेशनमा केन्द्रित भएर समीकरण बनाउन सक्रिय भएका छन्।
सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी घोषणा गरेका छैनन्। उता संस्थापनइतरबाट पनि शेखर कोइराला र गगन थापा सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेपछि नेताहरू आ-आफ्नो कित्ता आफ्नै ढंगले टुङ्ग्याउनेतिर सक्रिय हुन थालेका छन्।
'जेनजी' पुस्ताको आन्दोलनले सच्चिन दबाब दिएपछि त्यसको असर पार्टीभित्र पनि देखिन थालेको छ। उत्तराधिकारीका आकांक्षीहरु अब बदलिएको परिवेश अनुसार समीकरण निर्माणमा केन्द्रित हुन थालेका छन्।
एक समय सभापति देउवाको ‘उत्तराधिकारी’ बन्ने चर्चामा रहेका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको शक्ति समीकरणमा बदलिएको सार्वजनिक रूपमै व्यक्त गरिसके।
यस अगाडि सभापतिको उम्मेदवारीमा शेखरलाई साथ नदिएका उनले मंगलबार चितवन पुगेर अब दाजु शेखर कोइरालासँग मिलेर जाने संकेत गरे।
उनले, 'सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। हामी दुई जनामध्ये एक जना लड्छौँ।'
शशांकको यो अभिव्यक्तिले उनी अब देउवाको भरमा नरहेको देखायो। विकल्पमा उनी अब कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयासमा उभिएको देखियो। उनको यो भनाइलाई देउवा समूहबाट बाहिर निस्केर कोइराला परिवारको ‘लिगेसी’ जोगाउने प्रयासका रूपमा पनि अर्थ्याइएको छ।
यता 'जेनजी' अभियान पश्चात् कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा हाबी छन्। पार्टीका शीर्ष नेताहरू उनीहरूलाई रोक्न चुनावअघि महाधिवेशन गर्ने पक्षमा थिएनन्। तर, करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका बलमा उनीहरू पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गराउन सफल भएका छन्। अहिलेकै अवस्थामा महाधिवेशन भए नेतृत्व आफ्नो पकडबाट फुत्किने डर कांग्रेसका शीर्ष नेताहरूमा देखिन्छ।
एकातिर देउवाको समर्थन कसलाई रहन्छ भन्ने अन्योल छ भने अर्कातिर महामन्त्रीद्वय पार्टीमा हाबी हुँदै गएको अवस्थामा असुरक्षित महसुस गरिरहेका विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला लगायतका नेतृत्वको आकांक्षी रहेका नेताहरू नयाँ समीकरण निर्माणको रणनीतिमा जुट्ने देखिन्छ।
यद्यपि, महाधिवेशन प्रतिनिधिको चयन र समीकरण स्पष्ट नभएसम्म शशांकको यो बोली व्यवहारमा देखिन्छ कि देखिँदैन, त्यो भने हेर्न बाँकी नै छ।
यसअघि १४औँ महाधिवेशनमा शेखर सभापतिमा लड्दा शशांकले समर्थन गरेका थिएनन्। शशांकले मौन नबसी खुलेर भोट मागिदिएको भए नतिजा शेखरको पक्षमा आउन सक्थ्यो भन्ने आकलन कांग्रेसभित्र अहिले पनि गरिन्छ।
यता १३औँ र १४औँ महाधिवेशनमा सभापति बन्न लगाएको ‘गुन’को बदलामा १५औँ महाधिवेशनमा देउवाले आफूलाई उत्तराधिकारीका रूपमा अघि सार्ने शशांकको अपेक्षा थियो।
तर, पछिल्लो राजनीतिक घटनाक्रमले शशांकलाई झस्काएको छ। युवा पंक्तिको दबाबपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै शशांकले आफू देउवाको प्राथमिकतामा नरहेको महसुस गरेको देखियो।
खड्कालाई उत्तराधिकारीका रूपमा ‘प्रोजेक्ट’ गर्न खोजिएको बुझाइपछि शशांकले आफ्नो रणनीति बदल्दै शेखरसँग नजिकिने रणनीति बनाएको देखिन्छ। एक्लाएक्लै हिँड्दा पार्टीको नेतृत्व कोइराला परिवारबाट सधैँका लागि फुत्किने र अन्य समकालीन नेताहरू (विमलेन्द्र निधि, पूर्णबहादुर खड्का लगायत) हाबी हुने खतरा शशांकले देखेका छन्।
विकसित कठिन परिस्थितिमा विगतका महाधिवेशनमा देउवालाई सहज हुने भूमिकामा देखिएका उनी, अब दाजु शेखरको चाहनालाई नजरअन्दाज नगर्ने मनस्थितिमा पुगेको देखिन्छ। सोही अनुरूप ‘हामी दुई जना (शेखर र शशांक) मध्ये एक जना सभापतिमा लड्छौँ’ भन्ने सन्देश दिएर शशांकले महाधिवेशन अघि नै कोइराला परिवार एक ठाउँमा उभिँदै छ भन्ने मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास गरे।
उनको यो अभिव्यक्तिले कांग्रेसको आगामी महाधिवेशनसम्ममा वर्तमान समीकरण भत्किएर नयाँ ध्रुवीकरण हुने सम्भावना बढाएको छ।
मंसिर १६, २०८२ मंगलबार २३:२६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।