पर्यटन बोर्डका कर्मचारीलाई हवाई टिकटमा छुट, निगमलाई विदेशमा निःशुल्क स्टल
काठमाडौं : नेपाल पर्यटन बोर्डका कर्मचारीले पर्यटन प्रवर्द्धनका लागि यात्रा गर्दा अब नेपाल वायुसेवा निगमको टिकटमा विशेष छुट पाउने भएका छन्।
निगम र बोर्डबीच आइतबार भएको द्विपक्षीय सम्झौताअनुसार, बोर्डले पनि निगमलाई देशभित्र र विदेशमा हुने प्रवर्द्धनात्मक कार्यक्रमहरूमा आफ्नो सेवा देखाउन ‘स्टल’ उपलब्ध गराउने छ।
निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र बोर्डका सिइओ दीपकराज जोशीले हस्ताक्षर गरेको उक्त सम्झौतामा दुवै संस्थाले एक-अर्काको मञ्च प्रयोग गरेर संयुक्त ब्रान्डिङ र बजार विस्तारमा सघाउ पुग्ने उल्लेख छ। सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
राष्ट्रिय ध्वजावाहकका रूपमा निगमले अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने र बोर्डले नेपाललाई आकर्षक गन्तव्यका रूपमा चिनाउने कार्यमा यो साझेदारी फलदायी हुने अपेक्षा गरिएको छ। सहकार्यमार्फत यात्रु सङ्ख्यामा वृद्धि, गन्तव्य विविधीकरण र अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माणमा टेवा पुग्ने दुवै संस्थाको ठहर छ।
मंसिर १६, २०८२ मंगलबार १८:३०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।