शोभितको नयाँ मसला : अष्ट्रेलियाको ‘पीआर’ मोह र टुट्ने सम्बन्धको कथा

शोभितको नयाँ मसला : अष्ट्रेलियाको ‘पीआर’ मोह र टुट्ने सम्बन्धको कथा

काठमाडौं : शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनका बीच निर्माण पक्षले ३ मिनेट १ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली युवाहरूको कथा वाचन गरेको छ। ऋण खोजेर विदेशिएका सन्तानबाट परिवारले गर्ने पैसाको अपेक्षा र उताको वास्तविक परिस्थितिबचको द्वन्द्वलाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन्। फिल्मले प्रेम, विछोड र अन्ततः आफ्नै देश प्यारो हुन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।

ट्रेलरमा अभिनेता नीर शाहले बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ भन्ने संवाद निकै मार्मिक र सान्दर्भिक लाग्छ। यही मंसिर २६ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको यो फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका कलाकारहरू आर ए सुरज पौडेल र विनिता कार्की नेपाल आएका छन्।

फिल्ममा सुरज र विनिताका अलावा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी (मस्तानी), विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। साथै, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की विशेष भूमिकामा देखिएका छन्। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको छ भने लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालले गरेका छन्।

गणेश बुढाथोकीको लेखन रहेको फिल्मलाई सौरभ सायमी र सौरभ लामाले छायाङ्कन तथा बन्दे प्रसादले सम्पादन गरेका हुन्। फिल्ममा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको ‘पीआर’लाई आरआर फिल्म्सले वितरण गर्दैछ।

मंसिर १६, २०८२ मंगलबार १७:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।