हरित सीप प्रवर्द्धन गर्न ‘जीसाब’ को औपचारिक सुरुवात्

हरित सीप प्रवर्द्धन गर्न ‘जीसाब’ को औपचारिक सुरुवात्

काठमाडौं : नेपालमा वातावरण मैत्री सीपको प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले पहिलो पटक 'ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब)' को औपचारिक शुभारम्भ गरिएको छ।

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीइटी) लाई हरित सीपसँग जोड्दै दिगो रोजगारी सिर्जना गर्न सरकारी र निजी क्षेत्रको सहकार्यमा यो बोर्ड गठन गरिएको हो। बोर्डले विशेष गरी दिगो कृषि, वातावरण मैत्री निर्माण र पर्यटन क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले शिक्षालाई सीप, उत्पादन र बजारसँग जोड्नुपर्ने बताउँदै सरकार नीतिगत सुधारमा लागेको जानकारी दिए। यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनका चुनौती सामना गर्न नयाँ सीप आवश्यक रहेको भन्दै निजी क्षेत्र हरित सीप विकासमा सहकार्य गर्न तयार रहेको बताए।

नेपालका लागि बेलायती राजदूत रब फेनले यो पहलले नेपालको सन् २०४५ सम्म 'नेट जेरो' कार्बन उत्सर्जन गर्ने लक्ष्यमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव महेश भट्टराई, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतले हरित सीपको आवश्यकतामा जोड दिएका थिए।

सोही अवसरमा महासंघ र सीटीईभीटीलाई 'गोइङ ग्लोबल पार्टनरसिप (जीजीपी) अवार्ड २०२५' समेत हस्तान्तरण गरिएको थियो। ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग रहेको यस बोर्डको सचिवालय नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको छ।

मंसिर १६, २०८२ मंगलबार १६:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।