कुनै पनि बहानामा निर्वाचन बिथोलिन दिँदैनौं : गृहमन्त्री अर्याल
धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार तोकिएको समयमै निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन कटिबद्ध रहेको बताएका छन्। उनले लुटिएका हतियार वा फरार कैदीबन्दीको कारण देखाएर निर्वाचन प्रक्रिया बिथोलिन नदिने दृढता व्यक्त गरे।
मंगलबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गरे। उनले भने, 'विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य उद्देश्य हो।'
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दीको विषयलाई लिएर सुरक्षा चुनौतीको अतिरञ्जना नगर्न उनले आग्रह गरे। उक्त घटनालाई लिएर निर्वाचन बिथोलिने आशंका चिर्दै उनले भने, 'लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेका छन् भने थप हतियार फिर्ता हुने क्रममा छन्। हतियार फिर्ता हुने क्रममा छन्। फरार रहेका चार हजार ५५२ कैदीबन्दीलाई पक्राउ गर्न विशेष ‘अप्रेसन’ चलाइएको छ।'
सरकारले वार्ता, संवाद र सबैको भावना समेट्ने नीति लिएको स्पष्ट पार्दै उनले कसैलाई पनि काखा र पाखा नगरिने बताए। कुशासन र बेथितिविरुद्ध जेनजी युवाहरूले उठाएका मागपछि गृह प्रशासनले शान्ति सुरक्षा र सेवा प्रवाहमा निष्ठापूर्वक काम गरिरहेको उनको दाबी थियो।
मंसिर १६, २०८२ मंगलबार १४:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।