आईपीएल २०२६ अक्सन : ४५ खेलाडीको ‘बेस प्राइस’ २ करोड, म्याक्सवेल सहभागी नहुने

आईपीएल २०२६ अक्सन : ४५ खेलाडीको ‘बेस प्राइस’ २ करोड, म्याक्सवेल सहभागी नहुने

काठमाडौं : २०२६ को इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनका लागि ४५ जना खेलाडीले आफ्नो न्यूनतम मूल्य (बेस प्राइस) २ करोड भारतीय रुपैयाँ तोकेका छन्। जसमा क्यामरुन ग्रीन, लियम लिभिङस्टोन, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिसा पाथिराना र वानिन्दु हसरंगा जस्ता स्टार खेलाडीहरू समावेश छन्।

अक्सनको लामो सूचीमा अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको नाम छैन। गत वर्ष पञ्जाब किंग्सले ४.२ करोडमा किनेका ३७ वर्षीय म्याक्सवेल २०२५ को सिजनको बीचमै औंला भाँचिएपछि बाहिरिएका थिए। उनको स्थानमा आएका मिचेल ओवेनलाई पञ्जाबले रिटेन गरेको छ।

यस्तै, इंग्ल्यान्डका मोइन अली र दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले आईपीएलको सट्टा पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने निर्णय गरेका छन्। कोलकाता नाइट राइडर्स (केकेआर)का लिजेन्ड आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। रिटेन नभएपछि सन्न्यास घोषणा गरेका रसेल अब केकेआरको ‘पावर कोच’ को भूमिकामा देखिनेछन्।

इएसपीएन क्रिकइन्फोका अनुसार अक्सनका लागि कुल १,३५५ खेलाडीले नाम दर्ता गराएका छन्। नोभेम्बर ३० मा दर्ता समय सकिएपछि आईपीएलले फ्रेन्चाइजहरूलाई सूची पठाएको छ। आउँदो डिसेम्बर १६ मा अबुधाबीमा हुने अक्सनबाट १० फ्रेन्चाइजले ७७ रिक्त स्थान (स्लट) पूर्ति गर्नेछन्, जसमा ३१ विदेशी खेलाडीको कोटा छ।

अक्सनमा अस्ट्रेलियाका क्यामरुन ग्रीन मुख्य आकर्षण बन्ने देखिन्छ। ढाडको चोटका कारण २०२५ को मेगा अक्सन गुमाएका ग्रीनलाई केकेआर र चेन्नई सुपर किंग्स (सीएसके) ले भित्र्याउन सक्ने सम्भावना छ।

केकेआरसँग सबैभन्दा बढी ६४.३ करोड र सीएसकेसँग ४३.४ करोड भारु रकम (पर्स) बाँकी छ। रसेलको सन्न्यासपछि केकेआरले ग्रीनलाई उनको बलियो विकल्पका रूपमा हेर्न सक्छ।

गत सिजन १३ करोडमा रिटेन भएका मथिसा पाथिराना चोटका कारण रिलिज भएपछि २ करोडको सूचीमा छन्।

यस्तै, गएको मेगा अक्सनमा २३.५ करोडमा बिक्री भएका वेंकटेश अय्यर र ११ करोडमा रिटेन भएका रवि बिश्नोई पनि रिलिज भएपछि २ करोडको बेस प्राइसमा छन्। रोयल च्यालेन्जर्स बैंगलुरुले ८.७५ करोडमा किनेका लियम लिभिङस्टोन पनि रिलिज भएर अक्सनमा आएका छन्।

पञ्जाबलाई फाइनल पुर्याउन भूमिका खेलेका जोस इंग्लिस पनि अक्सनमा छन्, तर व्यक्तिगत कारणले उनी २०२६ को सिजनमा २५ प्रतिशत समय मात्र उपलब्ध हुनेछन्।

मंसिर १६, २०८२ मंगलबार १४:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।