लुम्बिनी प्रदेश सभाले पायो पूर्णता, एमाले सांसद रेवती गुरुङले लिइन् शपथ
बुटवल : लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ। एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्यमा मनोनित रेवती गुरुङले पद तथा गोपनीयताको शपथ लिएसँगै सभाले पूर्णता पाएको हो।
सोमबार आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नवनियुक्त सांसद गुरुङलाई शपथ ग्रहण गराएका हुन्।
रुकुम पूर्वबाट समानुपातिक सांसद रहेकी एमालेकी सरिता पुनको निधनपछि उक्त पद रिक्त थियो। ३२ वर्षीया पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो। उनी पुथा उत्तरगंगा गाउँपालिका-१०, तकसेराकी बासिन्दा थिइन्।
पुनको निधनपछि रिक्त रहेको स्थानमा एमालेको समानुपातिक बन्दसूचीको १३औँ नम्बरमा रहेकी गुरुङले सांसद बन्ने अवसर पाएकी हुन्। उनी रुपन्देहीको देवदह नगरपालिका-५ निवासी हुन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा बन्दसूचीको क्रमअनुसारका उम्मेदवार नियुक्त हुने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुरुप गुरुङलाई नियुक्त गरिएको हो।
मंसिर १६, २०८२ मंगलबार १३:३२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।