चितवन राइनोजद्वारा जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत, मलान र अर्जुनको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामु जितका लागि १७७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो।
चितवनका लागि ओपनर डेभिड मलान र अर्जुन साउदले उत्कृष्ट सुरुआत दिलाए। यी दुईबीच पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी भयो। मलानले ५४ बलको सामना गर्दै ४ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए।
यस्तै, अर्का ओपनर अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन को अर्धशतकीय पारी खेले।
मध्यक्रममा आएका सैफ जैबले ७ रन र रवि बोपाराले ३ रन मात्र जोड्न सके भने अन्त्यमा कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। मल्लले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए। अमर रौतेला १ रनमा अविजित रहे।
बलिङतर्फ जनकपुर बोल्ट्सका माज सदाकत, अनिल साह, रुपेश सिंह र जान निकोल लोफ्टी-इटनले समान १-१ विकेट लिए। माज सदाकतले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर किफायती बलिङ गरे।
जनकपुर बोल्ट्स अब १७७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रने तयारीमा छ।
मंसिर १६, २०८२ मंगलबार १३:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।