निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज खरिद गर्नु नपर्ने, एकल चुनाव चिह्न लिन १२० वटा निवेदन

निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज खरिद गर्नु नपर्ने, एकल चुनाव चिह्न लिन १२० वटा निवेदन
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज खरिद गर्नुनपर्ने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि अत्यावश्यक यी सामग्रीहरू पर्याप्त मौज्दात रहेकाले नयाँ खरिद गर्नु नपर्ने जानकारी दिएका हुन्।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने गरी कुल ५३ प्रकारका सामग्रीको सूची आयोगबाट स्वीकृत भएको छ।

जसमध्ये १५ प्रकारका संवेदनशील सामग्री आयोग आफैँले केन्द्रबाट व्यवस्थापन गर्नेछ भने बाँकी ३८ प्रकारका सामग्री सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयहरूले खरिद गरेर मतदान केन्द्रसम्म पुर्याउने छन्।

प्रवक्ता भट्टराईका अनुसार आयोगले व्यवस्थापन गर्ने १५ प्रकारका सामग्रीमध्ये मतपेटिका र मतपत्र छाप्ने कागज पर्याप्त मात्रामा मौज्दात छन्।

‘बाँकी १३ प्रकारका सामग्रीमध्ये पनि सात प्रकारका सामग्री कुनै न कुनै रूपमा आयोगसँग आंशिक मौज्दात छन्,’ भट्टराईले भने, ‘मौज्दात सामग्रीको प्रयोग गरेर अपुग सामग्री मात्र खरिद गरिनेछ।’

दुर्गम जिल्लाहरूमा पनि स्रोत साधनको उचित व्यवस्थापन गरिने र जिल्लाले खरिद गर्नुपर्ने सामग्री सम्बन्धित जिल्लाबाटै व्यवस्थापन गरी मतदान केन्द्रमा पठाइने आयोगले जनाएको छ।

‘बजेट अभावले निर्वाचन रोकिँदैन’
निर्वाचन आयोगले बजेट अभावकै कारण निर्वाचन प्रभावित नहुने स्पष्ट पारेको छ। आयोगले प्रस्ताव गरेको भन्दा केही कम बजेट प्राप्त भए पनि सरकारले अपुग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले बताए।

‘हामीले प्रस्ताव गरेको भन्दा केही कम बजेट प्राप्त भएको सत्य हो, तर त्यति कारणले मात्रै निर्वाचन रोकिने वा बिथोलिने अवस्था छैन,’ उनले भने, ‘अहिले प्राप्त बजेट कानुनबमोजिम खर्च गर्दैछौं, बीचमा नपुग भए सरकारले उपलब्ध गराउने छ।’

आयोगले खरिद ऐन र नियमअनुसार प्रक्रिया पूरा गरेर सामग्री व्यवस्थापन गरिरहेको जनाएको छ। समय, स्रोतसाधन र ऐन–नियमका कारण तोकिएको समयमा निर्वाचन गराउन कुनै समस्या नरहेको आयोगको दाबी छ।

‘अहिले भएकै प्रणालीबाट काम गर्न समय र स्रोत साधन छ,’ भट्टराईले थपे, ‘आयोग फागुन २१ मा निर्वाचन गर्न पूर्ण क्रियाशील भएर लागेको छ र निर्वाचन सम्पन्न गर्छ।’

मंसिर २० सम्म दल दर्ताको टुंगो लाग्ने
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न र एकल चुनाव चिह्न लिन १२० वटा निवेदन परेको आयोगले जनाएको छ।

आयोगले दल दर्ताका लागि सुरुमा मंसिर १ देखि १० गतेसम्मको समय तोकेकोमा पछि चार दिन थप गरी १४ गतेसम्म पुर्याएको थियो।

आयोगको कार्यतालिका अनुसार प्राप्त निवेदनहरू जाँचबुझ गरी योग्यता पुगेका दलहरूलाई मंसिर २० गतेसम्ममा स्वीकृति दिइनेछ।

प्रवक्ता भट्टराईले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए।

मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन नागरिकले पनि खबरदारी गर्नुपर्ने भन्दै उनले कहीँ कतै समस्या देखिए समयमै सूचित गर्न आग्रह गरे।

आयोगले विस्तृत कार्यतालिका बनाएर दैनिक काम गरिरहेकाले तोकिएकै मितिमा चुनाव हुनेमा आश्वस्त रहन उनले सबैलाई आग्रह गरेका छन्।

भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश पाएको छ।

मंसिर १६, २०८२ मंगलबार १०:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।