महोत्तरीका लालबाबु : जसले ‘सयपत्री’ मा भविष्य देखे, वार्षिक सात लाख बचत
महोत्तरी : बिहानको ५ नबज्दै लालबाबु भण्डारीको दैनिकी सुरु हुन्छ। जब गाउँमा घामका किरण पोखिन थाल्छन्, उनी पहेंलपुर सयपत्रीका थुँगाहरू सुम्सुम्याउन खेतमा पुगिसकेका हुन्छन्।
महोत्तरीको मनराशिस्वा नगरपालिका-३, सोनौल गाउँका लालबाबुका लागि यो २० कट्ठा जमिन केवल माटो मात्र होइन, सपना फलाउने ‘फ्याक्ट्री’ हो। यही माटोमा फुलेको सयपत्रीको सुगन्धसँगै उनी वार्षिक ७ लाख रुपैयाँ बचतको खुसी साटिरहेका छन्।
परम्परागत खेतीबाट भन्दा अलि फरक र व्यावसायिक बाटो रोजेका लालबाबुको बारीमा अहिले बाह्रैमास फूल फुल्छ।
उनी बिहानदेखि साँझ ५ बजेसम्म बिरुवाको हेरचाह, सिँचाइ र गोडमेलमै व्यस्त हुन्छन्। यो मेहनतमा उनलाई एक्लो छैनन्, छोराहरू विकास र आकाशले पनि काँध थापेका छन्।
लालबाबुको खेती गर्ने शैली पनि गज्जबको छ। उनले गाउँका दुई फरक ठाउँमा १०-१० कट्ठा जग्गामा खेती गरेका छन्। तर, रोप्ने समय फरक-फरक छ।
‘एउटा प्लटको फूल सकिन लाग्दा अर्को प्लटमा फुल्न सुरु हुन्छ,’ लालबाबु आफ्नो खेतीबारे सुनाउँछन्, ‘यसो गर्दा वर्षैभरि ग्राहकलाई फूल दिन सकिन्छ। कहिल्यै खाली बस्नु पर्दैन ।’
उनले भारतको मुज्जफरपुरबाट प्रतिगोटा २ रुपैयाँ (भारु) मा बिरुवा ल्याएर रोप्ने गरेका छन्। एउटा बिरुवा २० देखि ४० दिनमा हुर्कन्छ र त्यसपछि तीन-चार महिनासम्म निरन्तर उत्पादन दिन्छ। सिजनमा १० कट्ठाकै बिरुवाबाट मात्रै पनि दैनिक ५० किलोसम्म फूल टिपिने उनको अनुभव छ।
लालबाबुको घरमा ‘जयमा फूल भण्डार’ नामको पसल पनि छ। बजारमा सयपत्रीको माला ५० देखि ७० रुपैयाँसम्म बिक्छ। घरमै लिन आउने व्यापारीलाई ४० रुपैयाँमा दिँदा पनि उनलाई राम्रो मुनाफा छ।
छोरा विकासका अनुसार थोक बजारमा फूलको मूल्य प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म पर्छ। ‘सिजनमा दैनिक २ हजारदेखि ५ हजार रुपैयाँसम्म सजिलै आम्दानी हुन्छ’, विकास भन्छन्।
अहिले यही फूल खेतीको कमाइले लालबाबुको परिवारको सम्पूर्ण खर्च धानेको छ। छोराहरूको पढाइदेखि घरव्यवहार चलाएर पनि वर्षको ७ लाख चोखो बचत हुनुले लालबाबुलाई गाउँकै उदाहरणीय कृषकका रूपमा स्थापित गरेको छ।
फूलजस्तै फक्रेको लालबाबुको यो उद्यमले कृषिमा सम्भावना खोज्नेहरूका लागि एउटा प्रेरणाको कथा लेखेको छ।
मंसिर १६, २०८२ मंगलबार ०७:४२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।