बक्स अफिस रिपोर्ट : परानले १६ करोड कमाउँदा अन्य फिल्मको अवस्था कस्तो ?

बक्स अफिस रिपोर्ट : परानले १६ करोड कमाउँदा अन्य फिल्मको अवस्था कस्तो ?

काठमाडौं : स्टार कास्ट र ठूलो ब्यानरका फिल्मलाई पछि पार्दै कथावस्तुमा आधारित फिल्म ‘परान’ले बक्स अफिसमा वर्चस्व जमाएको छ। कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिस कलेक्सनमा अनमोल केसी अभिनीत ‘जेरी अनटप’लाई उछिनेको हो।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार ‘परान’ २०८२ सालको हालसम्मकै सर्वाधिक कमाउने फिल्म बनेको छ।

‘परान’को छलाङ : १६ करोडमाथि कमाइ

दीपक आचार्य ‘काकु’को लेखन तथा निर्देशनमा बनेको ‘परान’ले गत शनिबार (मंसिर १३) सम्म १६ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो अघिल्लो शनिबारको (१४ करोड १६ लाख) तुलनामा २ करोड रुपैयाँको वृद्धि हो।

फिल्मले हालसम्म ५ लाख ६९ हजार ७५४ थान टिकट बिक्री गरेको तथ्याङ्क छ। नीर शाह, केकी अधिकारी, बुद्धि तामाङ, अञ्जना बराइली, महेश त्रिपाठी र प्रवीण खतिवडा लगायतको अभिनय रहेको यो फिल्मले परदेशिएका छोरा र गाउँमा रहेका आमाबुबाबीचको आत्मीयताको कथा बोल्छ।

लगानी उठाउन संघर्षरत ‘जेरी अनटप’

यता, स्टारडमको बलमा असोज ३१ गतेदेखि प्रदर्शनमा आएको अनमोल केसीको फिल्म ‘जेरी अनटप’को पछिल्लो व्यापार भने सुस्त देखिएको छ। सुयोग गुरुङको निर्देशन र ६ करोडभन्दा माथिको लगानीमा बनेको यो फिल्मले शनिबार रातिसम्म १२ करोड २३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

अघिल्लो साता १२ करोड १९ लाख कमाइ गरेको फिल्मले यो साता मात्र ४ लाख रुपैयाँ हाराहारीको व्यापार थपेको छ। नेपालमा ग्रस कलेक्सनको करिब ५० प्रतिशत मात्र निर्माताको हातमा पर्ने हुँदा, ठूलो बजेटको यो फिल्म अझै नाफाको जोनमा सुरक्षित भइसकेको देखिँदैन। फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र केदार घिमिरे ‘माग्ने बुढा’को अभिनय छ।

‘जारी २’ र ‘मनबिनाको धन’को अवस्था

दयाहाङ राई र मिरुना मगर अभिनीत ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्स अफिसमा ६ करोड १९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। कार्तिक ६ गतेबाट २५८ शोसहित प्रदर्शनमा आएको यो फिल्मको व्यापार अघिल्लो साता ५ करोड ८९ लाख थियो। ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेलका रूपमा आए पनि यसले अपेक्षित जादु छर्न भने सकेन। उपेन्द्र सुब्बा लेखन तथा निर्देशित फिल्मलाई बाँसुरी र कबड्डी फिल्म्सले निर्माण गरेका हुन्।

त्यस्तै, बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मनबिनाको धन’ले ३ करोड ७४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। कार्तिक २१ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अघिल्लो साता ३ करोड ४० लाख कमाएको थियो। टंक बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्ममा नीता ढुङ्गाना, बुद्धि तामाङ, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

मंसिर १५, २०८२ सोमबार २२:४१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।