‘जेनजी’ विद्रोह खेर जाँदैछ, फेरि तिनै पुराना अनुहार फर्किँदै छन् : भुसाल
काठमाडौं : नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जनताको आक्रोश र निराशाबाट भएको ‘जेनजी विद्रोह’ खेर जाने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
पार्टीको विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठकपछि बोल्दै अध्यक्ष भुसालले आन्दोलनपछि पनि मुलुकले निकास नपाएको र सत्तामा पुनः पुराना अनुहारहरूकै हालीमुहाली सुरु भएको बताए।
उनले गत भदौ २४ गतेको घटना र जेनजीहरूको आन्दोलनले नेपाली राजनीतिमा नयाँ ‘पानीढलो’को काम गर्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए। भुसालले भने, 'हिजोको राजनीतिलाई परिष्कार गर्न, गलत प्रवृत्ति सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउन यो विद्रोह कोसेढुङ्गा साबित हुन्छ भन्ने आम जनताको विचार अहिले गलत साबित भइरहेको छ।'
जनताको विष्फोटबाट मुलुकले ठोस उपलब्धि हासिल गर्न नसकेको उनको जिकिर छ। 'जनताको आक्रोश र निराशाबाट जुन एउटा विस्फोट भयो, त्यसबाट मुलुकले केही नपाउने देखिँदै छ,' भुसालले भने, 'फेरि पनि तिनै अनुहारहरू, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका नेताहरू जस्ताको त्यस्तै राजनीतिमा फर्किने संकेत देखिनु यसको प्रमाण हो।'
बैठकमा ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शीर्षकको प्रस्तावमाथि विस्तृत छलफल भएको उनले जानकारी दिए। सोही बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। आन्दोलनका क्रममा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने प्रस्ताव बैठकले पारित गरेको अध्यक्ष भुसालले जानकारी दिए।
मंसिर १५, २०८२ सोमबार २१:५०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।