३५ लाख पारिश्रमिक लिएको चर्चाबीच तनावमा देखिए ‘बले’
काठमाडौं : हास्य टेलिश्रृंखला ‘सक्किगोनी’मार्फत ‘बले’का रूपमा दर्शकको मन जितेका अभिनेता सागर लम्साल नयाँ फिल्मको पोस्टरमा भने तनावपूर्ण मुद्रामा देखिएका छन्। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै उनको यो भिन्न लुक्स बाहिर आएको हो।
फिल्मको प्रचार अभियानको थालनी गर्दै निर्माण पक्षले सोमबार पहिलो झलक सार्वजनिक गरेको छ। जसमा सागरलाई हातमा चुरोट च्यापेर आँखा चिम्लिएको अवस्थामा देख्न सकिन्छ। फिल्मको शीर्षक सुन्दा पूर्ण कमेडी जस्तो लागे पनि पोस्टरमा सागरको गम्भीर भावभंगीले कथावस्तुमा सस्पेन्स वा गम्भीरता मिश्रित रहेको संकेत गर्छ। पोस्टरमा मुख्य अभिनेता सागरलाई मात्र स्थान दिइएको छ।
फिल्म खेल्न सागर लिएको पारिश्रमिकको विषय हटकेक बनेको थियो। निर्माण टिमले सागरलाई ३५ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गर्दै आएको छ। यदि यो दाबी सत्य सावित भएमा सागर नेपाली फिल्म उद्योगमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा उक्लिनेछन्। तर, कतिपयले यसलाई फिल्मको प्रचारका लागि रचिएको ‘फन्डा’ मात्र भएको टिप्पणी पनि गरेका छन्। यस विषयमा स्वयं सागरले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
राजु गिरीको निर्देशनमा बनेको यो फिल्ममा सागरका अलावा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, विशाल पहाडी, कैलाश रावत लगायतका चर्चित अनुहारहरू समेटिएका छन्। साथै, निर्देशक गिरी स्वयं पनि पर्दामा देखिनेछन् भने बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन्।
उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका हुन्। फिल्मको वितरण नेसनल सिने ग्रुपले गर्नेछ।
मंसिर १५, २०८२ सोमबार २१:२५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।