जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं कलङ्कीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौं बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ। पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भूमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको सो कार्यालयले जनाएको छ।

मंसिर १५, २०८२ सोमबार २०:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।