‘हर्ष’ : दर्शक र निर्माता दुबैका लागि विस्मात्
फिल्म निर्माणको स्टेरिङ समात्नु एउटा कुरा हो, तर त्यसलाई सही गन्तव्यमा पुर्याउनु विज्ञताको परीक्षा हो। निर्देशक एकता पौडेलको हकमा पनि उक्त कुरा ठ्याक्कै मेल खान पुगेको छ।
अमेरिकाबाट फिल्म मेकिङको अध्ययन गरेर फर्किएकी पौडेलले ‘हर्ष’मार्फत निर्देशकीय स्टेरिङ समातिन्, तर अभ्यास र परिपक्वताको अभावले होला, उनी फिल्मलाई दर्शकको अपेक्षाअनुसार गन्तव्यसम्म पुर्याउने सवालमा कच्चा देखिइन्।
विदेशबाट फिल्म मेकिङको अध्ययन गरेको कारण उनीबाट दर्शकले चलिरहेको भिडभन्दा बेग्लै र स्तरीय ‘भिजुअल ल्याङ्ग्वेज’को अपेक्षा राखिएका थियो। नेपाली फिल्मको परम्परागत ढर्राभन्दा फरक र नयाँपनको आशा उनीबाट राख्नु स्वभाविक पनि हो।
तर नेपाली फिल्मको पुरानै रोग 'कमजोर स्क्रिप्ट'ले फिल्मलाई गाँजेपछि आशा गरिएको ‘हर्ष’ दर्शक र निर्माता दुवैका लागि एउटा ‘विस्मात्’ बन्न पुग्यो।
कथासार
फिल्मको कथा मातृत्व, मानसिक स्वास्थ्य र पारिवारिक रस्साकस्सीमा आधारित छ। चितवनको परिवेशमा हुर्किएको मानव (खगेन्द्र लामिछाने) र सुहाना (वर्षा राउत)को प्रेम अभिभावकको चाहनामा विवाहमा परिणत हुन्छ। विवाहपछि मानवका बुबा (सन्तोष पन्त) नाति-नातिनाको चाहना राख्छन्। सुहाना गर्भवती हुन्छिन्, तर होलीको समयमा भएको एक दुर्घटनामा उनको गर्भ तुहिन्छ। यहीँबाट फिल्मको गति बदलिन्छ।
गर्भ तुहिएको घटनापछि सुहाना मानसिक रूपमा विक्षिप्त बन्छिन्, श्रीमानबाट टाढिन खोज्छिन्। घरबाट दोस्रो सन्तानको लागि दबाब आउँछ। सन्तान गुमाउनुको पीडाले विक्षिप्त सुहाना अर्को सन्तान जन्माउन चाहँदिनन्। यही क्रममा एक दिन बाल मन्दिरको वार्षिकोत्सवमा एक टुहुरो बालक (हर्ष)सँग उनको भेट हुन्छ।
‘हर्ष’सँग उनको ममता जोडिन पुग्छ। रगतको नाता नभए पनि भावनाको नाताले उनी हर्षलाई आमाको माया दिन चाहन्छिन्। उनको आग्रहमा हर्षलाई धर्मपुत्रका रूपमा भित्र्याउन मानव पनि सहमत हुन्छन्। तर, ‘वंश धान्न आफ्नै रगत चाहिन्छ’ भन्ने रुढीवादी सोच बोकेका मानवका बुबा यसमा तगारो बनिदिन्छन्। यही द्वन्द्वले फिल्मलाई क्लाइमेक्सतिर डोर्याउँछ।
बलियो पक्ष
निर्देशक पौडेलले डेब्यू फिल्ममै समाजमा घटिरहेका यथार्थ घटनाहरूलाई पर्दामा उतार्ने आँट गरेकी छन्, जुन सह्रानीय छ। उनले ‘कोख’ र ‘काख’ बीचको द्वन्द्वलाई मार्मिक ढंगले प्रस्तुत गरेकी छन्। सन्तान रगतको नाताले मात्र होइन, भावनाको डोरीले पनि गाँसिएका हुन्छन् भन्ने सन्देश दिँदै उनले समाजको ‘आफ्नै कोख चाहिन्छ’ भन्ने रुढीवादी सोचमाथि सशक्त प्रहार गरेकी छन्।
फिल्ममा सामाजिक यथार्थको रूपमा आउने छरछिमेकको चियोचर्चोलाई व्यांग्यात्मक ढंगले देखाइएको छ। फिल्मको सबैभन्दा सबल पक्ष भनेको श्रीमान्-श्रीमतीबीचको सम्बन्धको परिभाषा हो। निर्देशकले दाम्पत्य जीवन शारीरिक आकर्षणको परिधिभन्दा माथि उठेर एक-अर्काप्रतिको भावनात्मक सम्मान र विश्वासमा अडिएको हुन्छ भन्ने कुरालाई सुन्दर ढंगले स्थापित गर्न खोजेकी छन्।
अभिनय
फिल्म हर्षमा खगेन्द्र लामिछानेले आफ्नो अभिनयको प्याट्रन बदल्ने प्रयास गरेका छन्। ‘टलकजंग भर्सेस टुल्के’ अनि ‘पशुपति प्रसाद’बाट दर्शकमा उनको अभिनय शैलीबारे परेको छाप मेट्ने प्रयास गरेको अनुभव हुन्छ।
वर्षाको अभिनयमा फरकपन देखिन्न। हर्ष बनेका बाल कलाकारको अभिनयलाई दर्शकलाई छुन्छ। सन्तोष पन्तको अभिनय राम्रो छ। नीर शाह फिल्ममा भित्रिदा हलमा चलिरहेको अर्को फिल्म ‘परान’को झोल्को दिन्छ। लुभिना, अंशुको क्यारेक्टरले फिल्ममा मसलाको काम गरेको छ।
कमजोर पक्ष
फिल्मको मेरुदण्ड मानिने पटकथा र संवादको कारण ‘हर्ष’ कमजोर बन्यो। सुहाना आफैँ काम गर्ने अस्पतालमा बिरामी भएर जाँदा उनलाई कसैले नचिन्नु र नयाँ बिरामी जस्तो व्यवहार गर्नुले पटकथा कति अपरिपक्व छ भन्ने देखाउँछ।
प्राविधिक रूपमा फिल्म कमजोर छ। छायाङ्कन र सम्पादनमा कुनै नयाँपन छैन। पृष्ठभूमि सङ्गीत कतै सुनिसकेको धुन जस्तो लाग्छ। आधा दर्जन गीतहरू कोचिएका छन्, तर ‘सिठी मार भाइ’ र ‘दुई दिनको पाहुना’ बाहेक अन्य गीतले कथाको यात्रामा अवरोध मात्र सिर्जना गरेको अनुभूति हुन्छ।
निर्देशक एकता पौडेल कथा भन्नमा जति हतारिएकी छन्, पटकथा निखार्नमा त्यति नै चुकेकी छन्। अलिकति मात्र मिहिनेत गरिएको भए पनि यो फिल्म कम्तीमा मध्यम स्तरको बन्न सक्थ्यो। उनले मामा शिव रेग्मीको शैली पछ्याउन खोजेको देखिन्छ, तर मौलिकता गुमाएकी छन्।
अन्त्यमा, स्टेरिङ हातमा हुनुले मात्र यात्रा सफल हुँदैन, त्यसका लागि सडक (दर्शकको रुचि) र गाडी (पटकथा)को अवस्था पनि बुझ्नुपर्छ। निर्देशक एकता पौडेलले ‘हर्ष’बाट पक्कै पनि यो पाठ सिकेकी छन् होला। पढेर मात्र होइन, परेर पनि जानिन्छ भन्ने उखान यसपालि उनको सन्दर्भमा मेल खान गएको छ।
मंसिर १५, २०८२ सोमबार २०:३७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।