दैनिक सामानको आवरणमा हुने पोके तस्करी खुकुलो बनाउन गृहमन्त्रीको निर्देशन

दैनिक सामानको आवरणमा हुने पोके तस्करी खुकुलो बनाउन गृहमन्त्रीको निर्देशन

कैलाली : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल-भारत सीमामा हुने तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन्। कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफण्टा नाकाको स्थलगत निरीक्षणपछि उनले तस्करी नियन्त्रणमा कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीलाई निर्देशन दिएका हुन्।

मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको लागि उनी सोमबार धनगढी पुगेका थिए। उनी गौरीफन्टा नाका अवलोकनपछि कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको स्थलगत निरीक्षण गरेका थिए।

उनले सीमामा हुने तस्करी नियन्त्रणका लागि निर्देशन त दिए तर पोके तस्करीलाई भने खुकुलो बनाउन निर्देशन दिए। बोर्डरमा बस्नेहरूले साना साना पोकामा भारतबाट सामान नेपाल भित्र्याउने गर्छन्। त्यसको नियन्त्रणको प्रयास गर्दा बेलाबखत सुरक्षा निकायका अधिकारीहरू विवादमा समेत तानिने गरेका छन्।

उनले सीमाको स्थलगत निरीक्षणपछि नेपाली नागरिक तथा महिलाहरूको दैनिक जीविकोपार्जनमा सहजीकरण हुने गरी काम गर्न तर संगठित र व्यावसायिक रूपमा भन्सार छली गरी मालबस्तु भित्र्याउने व्यक्ति समूहलाई पहिचान गरी निगरानी बढाउन निर्देशन दिए।

मन्त्री अर्यालले गौरीफण्टा नाकामा भारतीय सीमा सुरक्षा बलका प्रहरी अधिकारीहरुसंग केही समय कुराकानी गरेका थिए। अर्यालले सीमाबाट हुने नेपाली चेलीहरूको अवैध ओसार पोसार नियन्त्रणका प्रयासबारे चासो राखेका थिए।

मंसिर १५, २०८२ सोमबार १६:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।