एसीसी यू-१९ प्रिमियर कप : दयानन्द मण्डलको ६ विकेट, नेपाललाई १४८ रनको लक्ष्य

एसीसी यू-१९ प्रिमियर कप : दयानन्द मण्डलको ६ विकेट, नेपाललाई १४८ रनको लक्ष्य

काठमाडौं : एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि घरेलु टोली युएईविरुद्धको खेलमा नेपालले जितका लागि १४८ रनको सामान्य लक्ष्य पाएको छ।

अजमानस्थित कर्भान ग्राउन्डमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै युएईलाई ४५.५ ओभरमा १४७ रनमै अलआउट गरेको हो।

युएईलाई सस्तैमा समेट्न मिडियम पेश बलर दयानन्द मण्डलले जादुमयी बलिङ गरे। मण्डलले ६.५ ओभर बलिङ गर्दै २ मेडन राखेर केवल १७ रन खर्चिदै ६ विकेट लिए।

युएईको ब्याटिङ लाइनअप ध्वस्त पार्न उनलाई अपराजित पौडेलले २ तथा अशोक धामी र नितेश कुमार पटेलले १-१ विकेट लिएर साथ दिए। स्पिनर तथा कप्तान अशोक धामीले १० ओभरमा ४ मेडन राख्दै मात्र ९ रन खर्चिएर निकै कसिलो बलिङ गरे।

युएईको सुरुआत निकै खराब रह्यो। इनिङको पहिलो बलमै विकेट गुमाएको युएईले २० रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। दयानन्दले खेलको सातौं ओभरमा दुई विकेट लिँदै युएईलाई दबाबमा राखेका थिए।

युएईका लागि अहमद खुदादादले एक छेउबाट इनिङ सम्हाल्दै सर्वाधिक ७१ रन बनाए। १२६ बल सामना गरेका उनले ६ चौका प्रहार गरे।

यस्तै नुरउल्लाह अयोबीले २६ रन र आयान मिस्बाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर १५, २०८२ सोमबार १४:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।