एनपीएलका दुई साता : सुदूरपश्चिमको एकछत्र राज, १९ खेल सकिँदा कसको अवस्था कस्तो?
काठमाडौं : मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का १९ खेल सकिँदा प्लेअफ समीकरणको चर्चा पाउन थालिकेको छ।
दुई साताको खेल सकिँदा आज मैदानलाई विश्राम दिइएको छ। आज मैदानमा एनपीएलका कुनै पनि खेल नभए पनि मैदानबाहिर भने अङ्क तालिकाको जोड-घटाउ र प्लेअफ समीकरणको चर्चाले माहोल तातिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिगको दुई सातालाई फर्केर हेर्दा केही टोलीको प्रदर्शन अविश्वसनीय देखिएको छ भने केही बलिया मानिएका टोलीहरूको अवस्था दयनीय बनेको छ।
सुदूरपश्चिम रोयल्सको एकछत्र राज
प्रतियोगिताको दुई साता बितिसक्दा सुदूरपश्चिम रोयल्सले आफूलाई उपाधिको सबैभन्दा बलियो दाबेदारका रूपमा उभ्याएको छ। दिपेन्द्र सिंह ऐरीको टोली वा भनौँ टोलीमा रहेका विदेशी खेलाडीहरूको सन्तुलित प्रदर्शनले सुदूरपश्चिमलाई अपराजित राखेको छ।
खेलेका ५ खेलमा ५ वटै जित निकाल्दै १० अङ्कका साथ सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। १.२९२ को नेट रन रेटसहित शीर्ष स्थानमा रहेको यो टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष सशक्त देखिएको छ। अभिनाश बोहराको कसिलो बलिङ र हरमित सिंहको विष्फोटक ब्याटिङ टोलीको प्रमुख अस्त्र बनेको छ।
लिगको दोस्रो र तेस्रो स्थानमा क्रमशः काठमाडौं गोर्खाज र विराटनगर किंग्स रहेका छन्। दुवै टोलीले समान ८-८ अङ्क जोडेका छन्। काठमाडौंले ६ खेलमा ४ जित निकालेको छ भने विराटनगरले ५ खेलमा ४ जित हात पारेको छ।
सन्दीप लामिछानेको उत्कृष्ट कप्तानी र बलिङको मद्दतले विराटनगरले सुरुवाती हारपछि उत्कृष्ट पुनरागमन गरेको छ। काठमाडौँ गोर्खाज पनि मिलिन्द कुमार र अन्य खेलाडीको सन्तुलित प्रदर्शनले प्लेअफको दौडमा सुरक्षित देखिन्छ।
जनकपुरको पतन
यस संस्करणको सबैभन्दा आश्चर्यजनक पक्ष भनेको साविक विजेता जनकपुर बोल्ट्सको प्रदर्शन हो। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर जितविहीन छ।
अङ्क तालिकामा शून्य अङ्क र -०.८८२ को खराब नेट रन रेटले जनकपुरको प्लेअफ सम्भावनालाई गणितीय चमत्कारमा सीमित गरिदिएको छ। उपाधि रक्षा गर्ने लक्ष्यसहित आएको टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष फिका सावित भएको छ।
चौथो स्थानको लागि चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स बिच कडा प्रतिस्पर्धा छ। चितवन राइनोजका लागि रवि बोपाराको उच्च लयका बाबजुद टोलीले ४ खेलमा २ जित र २ हार व्यहोरेको छ।
उता रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले ५ खेलमा २ जित मात्र निकाल्न सकेको छ।
कर्णाली याक्स र पोखरा एभेन्जर्स दुवै टोली सङ्घर्षरत छन्। कर्णालीले ५ खेलमा १ जित र पोखराले ४ खेलमा १ जित मात्र निकालेका छन्। यी टोलीका लागि अबका हरेक खेल गर या मरको अवस्थामा छन्।
व्यक्तिगत प्रदर्शन
दुई साताको खेलमा केही खेलाडीहरूले जादुयी प्रदर्शन गरेका छन्। ब्याटिङतर्फ चितवन राइनोजका अनुभवी विदेशी खेलाडी रवि बोपारा ४ इनिङ्समा ५१.०० को औसतसहित २०४ रन बनाएर सर्वाधिक रन बनाउने सूचीको शीर्षस्थानमा छन्।
यस्तै कर्णालीका मार्क वाट १८३ रन र लुम्बिनीका कप्तान रोहित पौडेल १७४ रनसहित पछ्याइरहेका छन्। मार्क वाटले जारी संस्करणमा एक मात्र शतक समेत हानेका छन्।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहरा ५ खेलमा ११ विकेट लिएर शीर्षस्थानमा छन्। उनको ‘डेथ ओभर’ बलिङ उत्कृष्ट देखिएको छ।
यस्तै विराटनगरका सन्दीप लामिछाने १० विकेटसहित दोस्रो स्थानमा छन्। सन्दीपको इकोनोमी रेट (५.१५) प्रतियोगिताकै उत्कृष्ट मध्ये एक हो, जसले उनी फ्यान रेटिङ (९.२) मा पनि नम्बर १ मा छन्।
निसम र गुल्बदिन गए, जसन र डुप्लेसिस आए
दोस्रो साता चलिरहँदा विदेशी खेलाडीहरूको आउने र जाने क्रम चलिरहेको छ। पोखराका लागि खेल्न आएका न्युजिल्यान्डका जिमी निसम र ड्यान डाउथवेट, लुम्बिनीका लागि खेल्न आएका अफगानिस्तानका गुल्बदिन नैब खेलेर गइसकेका छन्।
बुधबार हुने विराटनगरको खेल खेल्न फाप डुप्लेसिस नेपाल आइपुग्नेछन् भने पोखराले जिसी निसमको ठाउँमा इंग्ल्यान्डका क्रिकेटर जसन रोयलाई स्वागत गरिसकेको छ।
लुम्बिनीले गुल्बदिनको स्थानमा श्रीलंकाका निरोसान डिक्वेल्लालाई टोलीमा भित्र्याइसकेको छ। डिक्वेल्लाले पोखराविरुद्धको खेलमा एनपीएलको डेब्यु गरेका थिए। उनले २२ बलमा ३७ रनको इनिङ खेलेका थिए।
जनकपुर बोल्ट्सले प्रतियोगिताको बीचमा एसिया कप राइजिङ स्टारका प्लेयर अफ दि टुर्नामेन्ट रहेका पाकिस्तानी खेलाडी माज सदाकतलाई भित्र्याएको थियो।
यसका अलावा अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी पुनित मेहरालाई टोलीमा भित्र्याएको छ। सुदूरपश्चिमबाट अहिले चार विदेशी खेलाडीहरूले खेलिरहेका छन्। जसमा अष्ट्रेलियामा क्रिस लिन र जस ब्राउन, न्युजिल्यान्डका स्कट कुगलाइन र अमेरिकाका हरमीत सिंह छन्।
साथै, काठमाडौं गोर्खाजका जेर्राड इरासमसले पनि हिजो आफ्नो अन्तिम खेल खेलेर आज युएई जाँदैछन्। उनले एक अन्तर्वार्तामा आफूलाई नेपालमा बस्न मन भए पनि पेशागत बाध्यताले जानुपर्ने भएको बताएका छन्।
एनपीएलको जारी सिजनमा एउटा टिमले चार देखि छ जनासम्म विदेशी खेलाडी टोलीमा राख्न पाउँछ, जसमा प्लेइङ ११ मा जम्मा चार जना मात्र विदेशी खेलाडी राख्न पाउने नियम छ।
भोलिको समीकरण
आजको विश्रामपछि भोलि मंगलबार दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। विहान ११ बजेर ४५ मिनेटमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज मैदानमा उत्रँदैछ।
लगातार चार हार व्यहोरेको जनकपुरका लागि यो खेल इज्जत जोगाउन र गणितीय सम्भावना जीवित राख्न अन्तिम मौका हो। उता चितवन यो खेल जितेर ६ अङ्कका साथ प्लेअफको स्थान बलियो बनाउन चाहन्छ।
अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ। यो खेल दुवै टोलीका लागि प्लेअफ पुग्न निर्णायक मानिएको छ।
४ खेलमा १ जित मात्र भएको पोखरा र ५ खेलमा १ जित भएको कर्णालीका लागि यो खेल हार्नु भनेको प्रतियोगिताबाट बाहिरिनु सरह हो।
मंसिर १५, २०८२ सोमबार १०:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।