भारतद्वारा दक्षिण अफ्रिका १७ रनले पराजित, कोहलीको शानदार शतक

भारतद्वारा दक्षिण अफ्रिका १७ रनले पराजित, कोहलीको शानदार शतक

काठमाडौं : तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध १७ रनको जित हात पारेको छ।

आइतबार झारखण्डको राँचीस्थित जेएससीए इन्टरनेशनल स्टेडियममा भएको खेलमा, पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले शतकीय पारी खेले।

३५० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली भने अन्तिम ओभरको दोस्रो बलमा ३३२ रन बनाउँदै अलआउट भयो।

तीन खेलको शृङ्खलाको यो पहिलो खेलमा भारतका लागि ओपनिङ गर्न रोहित शर्मा र यशस्वी जैसवाल मैदानमा उत्रिएका थिए। जैसवालले १६ बलमा १८ रन मात्र बनाउन सके र नान्ड्रे बर्गरको बलमा क्याच आउट भए।

खेलको २२औं ओभरमा भारतलाई दोस्रो धक्का लाग्यो। ओपनर रोहित शर्मा ५१ बलमा ५७ रन बनाएर मार्को यान्सेनको बलमा एलबीडब्ल्यु आउट भए। त्यसपछि ऋतुराज गायकवाड र वाशिङ्गटन सुन्दर पनि सस्तैमा पेभिलियन फर्किए।

तर, विराट कोहलीको दमदार ब्याटिङले खेलको माहोल बदल्यो। उनले १०२ बलमा ५ छक्का र ७ चौकाको मद्दतले शतक पूरा गरे। शतक प्रहार गरेपछि झन् आक्रामक बनेका कोहली १३५ रन बनाएर आउट भए।

कप्तान केएल राहुलले पनि उत्कृष्ट पारी खेल्दै ५६ बलमा ६० रन बनाए। त्यस्तै रवीन्द्र जडेजाले २० बलमा ३२ रन जोडेर आउट भए।

मंसिर १५, २०८२ सोमबार ०७:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।