रञ्जुको विवेकहीन यात्रा
काठमाडौं : विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकीकरण घोषणा सभामा यो एकताका सूत्रधारमध्येका एक तथा विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियार मञ्चमा फरक शैलीमा देखिए।
पत्रकारिताबाट एकाएक साझा पार्टीमार्फत राजनीतिमा हाम फालेका उनी राजनीतिक मञ्चहरूमा शान्त शैलीमा बोल्थे। ‘चर्को स्वरमा होइन, काममा हुनुपर्छ’ भन्ने उनी रास्वपाको मञ्चमा पुगेसँगै मुखमा फिँज निकाली-निकाली चिच्याइरहेका थिए।
दलका नेतालाई गाली गरे पनि विगतमा रचनात्मक शैली देखिन्थ्यो उनको, तर आइतबार गालीका लागि ‘हरि ढकाल’ शैली सापट लिएजस्तै देखिए उनी।
समीक्षा बास्कोटाको शैली पनि विवेकशील सुहाउँदो थिएन। पार्टी नेतृत्व लिएदेखि यत्तिको भीड नदेखेर हो वा रास्वपाको नेता हुन योग्य हुने अभ्यास हो, उनको लवज र शब्द चयन पनि बदलिएको सुनियो।
बास्कोटा अनि परियारको राजनीतिक पृष्ठभूमि सुसंस्कृत राजनीतिको अभ्यासका लागि जन्मिएको उज्ज्वल थापाको ‘विवेकशील अभियान’ नभई अवसरमा मौका छोप्ने रवीन्द्र मिश्रको ‘साझा पार्टी’ थियो।
रवीन्द्रले अवसरका लागि विचारै मिल्काएर गणतन्त्रबाट एकाएक राजतन्त्रको बर्को भिरेझैँ यी दुवैले भिरेनन्। राजनीतिक भविष्य गतिलो नभए पनि संकटमा साझा थामेर बसे।
तर, रञ्जु दर्शना त खाँटी उज्ज्वल थापाको विवेकशील अभियानको उत्पादन हुन्। किशोर उमेरमै थापाको संगतले ‘देश बदल्ने तर संस्कारसहित’ भन्ने शिक्षा पाएकी हुन्।
‘बन्द गरेर होइन नेपाल खुल्ला गरेर राजनीति गर्नुपर्छ’ भन्ने थापाको सिद्धान्तबाट दीक्षित ती चेली पनि आइतबार विवेकशीलबाट प्रशिक्षितझैँ देखिइनन्। मञ्चमा उनले उज्ज्वलको नाम टन्नै लिइन्। गुरुभक्ति नि देखाइन्। तर, गुरुको दीक्षाको प्रभाव देखाउन चुकिन्।
चर्को बोल्ने, तथ्यहिन आरोप लगाइदिने, अन्य दल, विशेष पुरानाका नेतालाई सक्दो गालि गर्ने, असम्भवै भए पनि प्वालैप्वाल परेको सपनाको डुंगा चढाइदिने।
अरूको तिलजत्रो गल्तीलाई बडेमान पहाड देखाउने, आफ्नो बडेमानको बदमासीलाई ‘तिलको गेडो त हो’ भन्ने। जति सकिन्छ सपना बाँड्ने, धरातलको गफ गर्दै नगर्ने। चर्को बोल्ने, अझ सम्भव भए लय र छन्द मिलाउने।
वैकल्पिक राजनीतिको एजेन्डासहित देश बदल्ने भन्दै आएको रास्वपाका सभापति रवि लामिछाने र उनीबाट प्रशिक्षित ग्याङले दिने दीक्षा यही हो।
विवेकशील साझाको तराजु त्यागेर आइतबार घन्टी बजाउँदा उत्साहित देखिएका विवेकशील साझाका तीन नेताले पनि रास्वपा योग्य हुन राम्रै प्रशिक्षण लिएको आइतबार प्रष्ट भयो।
साझा पार्टीको न कुनै राजनीतिक साख थियो न उल्लेख्य उपलब्धि नै। केही बाहेक राजनीतिमा दाउ थाप्न आएका विभिन्न दल तथा पेसाकर्मीको समूह थियो त्यो। दाउ थाप्दा परेन अनि कसैले दाउको खाल बदले, कोही च्याँखे थापेर बसे। केही नसकिने रहेछ भनेर पुरानै खेलमा फर्किए।
तर, प्रारम्भमा विवेकशील अवसरवादीहरूको झुन्ड थिएन। ‘यस्ता भुराहरूले राजनीति गर्ने?’ भनेर खिस्याउँदा पनि ‘हामी सक्छौँ’ भन्ने आत्मविश्वासी युवा समूह थियो। यसका केही कमजोरी नभएको हैन तर अधिक सकारात्मक नै थियो। ‘अवसर आफू लिने होइन दिने हो, चुनौती आफू लिने हो’ भन्ने नेतृत्व थियो। सुस्तरी साख बढाइरहेको समूह थियो।
त्यसले एक्कासी ठुला सपना देखाएन, साना-साना काम गरेर आशा जगायो। कहिले ‘अकुपाई बालुवाटार’ अभियान चलायो, कहिले बलिया दलविरुद्ध अहिंसात्मक ‘नेपाल खुल्ला छ’ अभियान चलायो। विस्तारै युवामाझ आशाको सञ्चार मात्र गराएन, ‘हामी पनि नेतृत्व लिन सक्छौँ’ भन्ने आत्मविश्वास जगाउन काठमाडौं महानगरपालिकाको मेयरमा ‘फुच्ची’ रञ्जुलाई उठाएर २४ हजार हाराहारी मत ल्याई छक्क पारिदियो।
विवेकशीलले साना-साना कामबाटै जनमत जितिरहेको थियो। त्यही बेलामा वैकल्पिक दल भन्दै साझा पार्टी आयो। वैकल्पिक राजनीतिका लागि यही नै दुर्घटनाको प्रारम्भ बन्यो।
२०७४ को स्थानीय तहको निर्वाचनताका किशोर थापा र रञ्जु अलग-अलग उम्मेदवार बने। पहिला नै दुवै मिले हुने भन्ने सन्देश नदेखिएको होइन। तर अलग-अलग लडे, रञ्जु २४ हजार हाराहारी मतसहित तेस्रो र थापा १८ हजार मतसहित चौथो भए।
‘मिलेको भए मेयर जितिने रहेछ’ भन्ने सेन्टिमेन्टमा बगेर विवेकशील साझाको भुंग्रोमा पस्यो। उज्ज्वलले केही समयमै साझा समूहलाई विवेकशीलको नेता, नीति र शैली होइन कार्यकर्ता र ब्रान्ड मात्र चाहिएको रहेछ भन्ने बुझे र अलग्गिए।
उज्ज्वल नयाँ शिराबाट विवेकशील अभियान ब्युँताउने तयारीमा थिए। विवेकशील नेपाली दलको नाममा संगठित भए। प्रतिस्पर्धाबाट नेतृत्व छान्ने अभ्यासमा मिलन पाण्डे र शिव थापाबीचको प्रतिस्पर्धामा मिलनले जिते।
तर, मिलनलाई साझाको गफको स्वाद परिसकेको थियो। उनले विवेकशील नेपाली दललाई पुनः साझामा ल्याएर मिसाइदिए। अहिले उज्ज्वलको दर्शन भनेर नथाक्ने रञ्जु, उज्ज्वलको मतविपरीत साझामा आइन्। उज्ज्वल केही समय आराम गरेर नयाँ शिराबाट विवेकशील अभियान ब्युँताउने तयारीमा थिए, तर कोरोनाले ज्यानै लियो।
त्यसपछि ‘विचारभन्दा माथि देश’ भन्दै मिश्र समूहले साझालाई नै राप्रपा बनाउन खेलेको खेलमा साझा जोगियो, तर संगठन र साखहीन भएर।
त्यसपछिका दिनमा समीक्षा बास्कोटाको नेतृत्वमा ब्युँतने प्रयास गर्दागर्दै रास्वपाको नाममा रवि लामिछानेको हुरी आयो। विवेकशील साझाका नेता र संगठन धकेलिएर नेपाल प्रजा परिषद्को इतिहास दोहोर्याउने डिलमा पुगे।
डिलबाट खस्नु अगाडि त्यान्द्रोको खोजीमा थिए, जेन-जी आन्दोलनले डिलतिर धकेलिदिएको रास्वपा भेटे। विराजभक्त श्रेष्ठले पहिल्यै बठ्याइँ गर्दा पाएको माननीय पद देखेका रञ्जुसहितले त्यान्द्रो समातिहाले।
राजनीतिमा नेतृत्वको चाहना नहुने भन्ने हुन्न। उज्ज्वल थापा पनि त दुई पटक सांसदको उम्मेदवार भएकै हुन्। दुवै पटक पराजित भए पनि सम्मानजनक मत ल्याएर छक्क पारेकै थिए।
उनले नेतृत्वको चाहना राखे र प्रयास गरे। पराजित भए तर जसरी नि सांसद हुने लोभ गरेनन्। नत्र त्यो बेला पनि कांग्रेसले त्यान्द्रो नफालेको हैन। तर उनले समातेनन्।
रञ्जुसहितले २०७९ मा सांसद हुने प्रयास गरे। रास्वपामा आउन आएको प्रस्ताव अधिकांशले मानेनन्। तर छिन्नभिन्न भएका उज्जवलहिन उनीहरूले बैकल्पिक राजनीतिको नाममा नक्कली धारको भ्रम चिर्न सकेनन्। उनीहरूको शालीन र विवेकी शैलीले माथ खायो। तर यो पटक उनीहरूको उपलब्धि देखेर लोभिए।
रञ्जु हुन् या प्रकाश, उनीहरू सांसद हुन चाहन्छन्, विवेकी होइन। त्यसका लागि शालीन र भद्र होइन-बुझे नि नबुझे नि-चर्को स्वरमा तोसिमा र हरि शैली पछ्याउनुपर्ने दिव्यज्ञान पाए। रविलाई गुरु थापेपछि छन्द मिलाएर सपना बाँड्ने कला त आइहाल्छ।
समीक्षा र प्रकाशचन्द्र लगायतले उज्ज्वल र विवेकशील अभियानको नाम लिनु माओवादीले माओ छाडेर बीपीको नाम भजाए समान हो। तर उनीहरूले नि लिने नाम थापाकै हो। मिश्रको लिन सकिन्न क्यार।
अहिलेका क्रियाशीलमध्ये रञ्जुले त्यो हक राख्थिन्। तर गम्भीर ठगीको अभियोगमा कारागारमा रहेकालाई नेता स्वीकार्दै, अदालती परीक्षणमा रहेको विषयलाई ‘ग्यालेक्सी ग्याङ’ शैलीमा राजनीतिक षड्यन्त्र भन्दै, सरकारी कागजात किर्तेकी अभियुक्त ज्वाला संग्रौला र महिलालाई इमेल गरेर अश्लील म्यासेज पठाएका अभियुक्त अरनिको पाँडेसँगै मञ्च सेयर गर्न राजी भएर उनी अब विवेकशील होइन ‘विवेकहीन’ बनिन्।
नेतृत्व मूल्य-मान्यता र नैतिक साखसहितको हुनुपर्छ भनेर अध्यक्षमा नयाँ पुस्ता अगाडि सार्ने, नेतृत्व व्यक्ति केन्द्रित होइन सामूहिकतामा आधारित हुनुपर्छ भन्दै रवीन्द्र मिश्रसँग विद्रोह गर्ने उज्ज्वलको दीक्षाको प्रभाव अभियुक्तहरूको समूहमा मिसिएर अब रञ्जुमा पनि रहेन।
अहिलेको नयाँ राजनीतिमा चलेको जेनजी आन्दोलनको उपलब्धि रक्षाका लागि भन्ने थेगोले विवेकशीलबाट विवेकहीनको राजनीतिक चोला फेर्न उनलाई राम्रै बहाना दियो।
उज्ज्वल थापा जीवित नरहँदा पनि विवेकशील अभियानको असल साख कायम हुन सक्छ। तर रास्वपाको मन्चमा रञ्जु लगायतले विवेकशील अभियान र उज्ज्वलको नाम मस्त भजाउने छन्।
हिजै पूर्व विवेकशील बिराजभक्तले पार्टीको बाह्य मन्चमा पहिलो पटक रविसँगै उज्जलको नाम मिसाइसके। रन्जु लगायतले यसरी नाम लिने छन् कि रवि र उज्जल एकै हो झैँ बनाइदिने छन्।
सच्चा मनले गुरु मान्ने भए उज्ज्वलको आत्मै रुवाउने काम त नगरे हुने हो क्यार!
मंसिर १५, २०८२ सोमबार ०७:४९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।