शल्यक्रिया नै नगरी मिर्गौलाबाट ११ एमएमको ढुंगा खसाएका डा. प्रशान्तको उपचार अनुभव
डा. प्रशान्त पण्डित आयुर्वेदिक चिकित्सक हुन्। आयुर्वेदिक विधि तथा पद्धति अपनाएर बिरामीको औषधि उपचार गर्नु उनको मुख्य दैनिकी हो।
आयुर्वेदिक चिकित्सा विधिको विषयमा फैलिने गरेका कयौँ यथार्थ र भ्रम चिर्नु समेत उनको दैनिकीमा नै पर्छ। उनै डा. प्रशान्तले चिकित्सकीय पेशाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन्।
बिनाशल्यक्रिया ती युवतीको मिर्गौलाको ढुंगा खसेपछि...
मिर्गौलाको पत्थरी भएकी एक जना बिरामीलाई आयुर्वेदिक विधि अपनाई निको बनाएको प्रसंग डा. प्रशान्त कहिल्यै भुल्दैनन्।
प्रसंग केही वर्ष अघिको हो। करिब ३२ वर्षकी एक जना युवती उपचारका लागि आयुर्वेदिक अस्पताल पुगिन्। ती युवती पत्थरीको समस्याका कारण थला नै पर्ने अवस्थामा पुगिसकेकी थिइन्।
शल्यक्रिया गर्न नपरे हुन्थ्यो भनेर ‘बिना शल्यक्रिया पत्थरी फाल्न सकिन्छ कि’ भनेर भौंतारिँदै उपचारको खोजीमा युवती आयुर्वेदिक अस्पताल पुगेकी रहिछन्।
डा. प्रशान्तले ती युवतीको स्वास्थ्य परीक्षण गरे। ती युवतीको दाहिने मिर्गौलामा पत्थरी भएको थाहा भयो। पत्थरी बढेर करिब ११ मिलिमिटरको भइसकेको थियो।
ती युवतीलाई डा. प्रशान्तले मिर्गौलाको पत्थरी फाल्न आयुर्वेदिक औषधि खुवाउन सुरु गरे। खानपानदेखि दैनिक जीवनशैली कस्तो हुनुपर्ने भन्ने सुझाव दिए।
सुरुमा त ती युवतीलाई ‘आयुर्वेदिक औषधिले पत्थरी के जाला र?’ भन्ने लागेको थियो। तैपनि केही भइहाल्छ कि भनेर झिनो आशाका साथ आयुर्वेदिक औषधि उपचार थालिन्। तर, उपचार सही भयो।
करिब तीन महिनाको आयुर्वेदिक औषधि उपचारपछि त ती युवतीको मिर्गौलाको पत्थरी नै गयो। आयुर्वेदिक औषधिले ती युवतीको मिर्गौलाको ढुंगा (पत्थरी) खस्यो। युवतीको पत्थरीको समस्या निर्मूल नै भयो।

शल्यक्रिया नै नगरी पत्थरीको समस्या ठिक भएपछि ती युवती खुसीले गदगद भइन्। त्यसैले सुरुवाती र जटिल नबनिसकेको अवस्थामा बिना शल्यक्रिया आयुर्वेदिक उपचारात्मक विधि अपनाएर समेत मिर्गौलाको पत्थरी निर्मूल बनाउन सकिने डा. प्रशान्तले अनुभव सुनाए।
सामान्यतया मिर्गौलामा भएको अधिकतम ११ मिलिमिटरसम्मको पत्थरी बिना शल्यक्रिया आयुर्वेदिक औषधि उपचार विधि अपनाएर धेरै बिरामीलाई ठिक बनाएको उनले अनुभव सुनाए।
उपचार थालेको तीन महिनामै बाथ रोग चैट
बाथको समस्याले थला परेको एक जनालाई उपचार गरेको प्रसंग पनि डा. प्रशान्त कहिल्यै भुल्दैनन्। प्रसंग करिब १६ वर्ष अघिको हो। चितवनस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा करिब ५२ वर्षका पुरुषलाई उपचारको लागि लगियो।
ती पुरुष खुट्टाको घुँडा दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, हातखुट्टा पोल्ने र झमझमाउने, सुन्निने जस्ता समस्याले पीडित थिए।
बाथको समस्याको कारण ती पुरुष दुब्लाउनुका साथै हिँडडुल गर्न नसकेर थला परेका थिए। ती पुरुष उपचारका लागि धेरै ठाउँमा दौडिए पनि समस्या ठिक नभएपछि उनीहरूको दैनिकी नै कष्टकर बनिरहेको थियो।
स्वास्थ्य परीक्षणपछि ती पुरुषलाई बाथको समस्या भएको पहिचान भयो। समस्याको पहिचान भएपछि ती पुरुषको समस्या समाधानका लागि डा. प्रशान्तको टिमले आयुर्वेदिक विधि अपनाई औषधि उपचार थाल्यो।
करिब तीन महिनाको औषधि उपचारपछि ती पुरुषको बाथको समस्या ठिक भएको उनले सुनाए। बाथको समस्याले थला परेका ती पुरुषको समस्या ठिक भएपछि सञ्चो बनाइदिने डा. प्रशान्तप्रति कृतज्ञ भए नै। बिरामी सञ्चो भएपछि उनी पनि खुसी हुने नै भए।
तीन महिनापछि रगतको परीक्षण गर्दा ती पुरुषमा बाथको समस्या देखिएन। आयुर्वेदिक उपचार थालेको तीन महिनापछि ती पुरुषको बाथको समस्या पूर्ण रुपमा नै ठिक भएको सम्झन्छन्, डा. प्रशान्त। पछि 'फलो-अप'मा आउँदा पनि ती पुरुषलाई बाथ नदेखिएको उनले सुनाए।
बाथ रोगको समस्याले पीडित भएका कयौं व्यक्तिको समस्या उपचार गरेर ठिक बनाएका छन्, उनले। बाथको उपचार आयुर्वेदमा प्रभावकारी भएको समेत डा. प्रशान्तले सुनाए।
बाथ रोगको समस्या भएको अवस्थामा विशेषगरी हातखुट्टा तथा जोर्नी रातो हुने, सुन्निने, दुख्ने जस्ता समस्या हुन्छन्। जाडो मौसममा बाथको समस्या बढी हुन्छ।
कविराज भएर सरकारी जागिरमा प्रवेश, आयुर्वेदमा रस
तनहुँको भानु नगरपालिका वडा नम्बर-१२ मा २०३० सालमा जन्मिएका प्रशान्तले स्थानीय त्रिभुवन माविबाट २०४६ मा एसएलसी गरे। एसएलसीपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयुर्वेद क्याम्पसमा सामान्य चिकित्सा तथा जनरल मेडिसिन विषयमा तीन वर्ष पढे।
तीन वर्षे त्यो अध्ययन सकेपछि २०५२ मा लोकसेवा परीक्षामार्फत कविराजका रुपमा सरकारी स्थायी जागिरे भएर तत्कालीन कोशी अञ्चल आयुर्वेद औषधालय, धनकुटा पुगे प्रशान्त। प्रशान्तले धनकुटामा करिब दुई वर्ष काम गरे।
उनलाई थप अध्ययन गर्नु नै थियो। त्यसमा पनि आयुर्वेद विषय नै अध्ययन गर्ने धोको थियो।
त्यसैले उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस’मा २०५३ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि भर्ना भए। प्रशान्तले २०५८ मा बीएएमएस अध्ययन पूरा गरे।
उनको काम निरन्तर भयो नै। उनले बीएएमएस सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्।
बीएएमएस अध्ययनपछि २०६० मा डा. प्रशान्त पुनः लोकसेवा परीक्षामार्फत आठौँ तहको मेडिकल अधिकृतका रुपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे।
आयुर्वेदिक चिकित्सकका रुपमा जागिरे भएपछि उनको पहिलो पोष्टिङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनमा भयो। उनी चितवनमा २०७१ सम्म प्रमुखको भूमिकामा रहेर काम गरे।
चितवनपछि डा. प्रशान्त सरुवा भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखा पुगे। गोरखा पुगेको दुई वर्षपछि २०७३ मा उनी सरुवा भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङ पुगे। डा. प्रशान्तलाई थप अध्ययनको भोक मरेकै थिएन।

तर, उनले सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गर्ने निर्णय लिए। अनि उनी ‘हेल्थ इन्फर्मेटिक्स’ विषयमा ‘एमएस’ अध्ययनका लागि बंगलादेश पुगे। स्वास्थ्य, सूचना तथा प्रविधिसँग सम्बन्धित यो दुई वर्षे विषय अध्ययन गरेर उनी नेपाल फर्किए।
नेपाल फर्किएपछि डा. प्रशान्त पोष्टिङ भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवलपरासी पुगे।
त्यसपछि कर्मचारी समायोजनको क्रममा उनी गण्डकी प्रदेश अन्तर्गत समायोजन भएर २०७६ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखा पुगे। हालसम्म उनी त्यहीँको प्रमुखको भूमिकामा कार्यरत छन्।
हेपाटाइटिस, पायल्स, फिस्टुला, फिसर, ग्याष्ट्रिक जस्ता पेटजन्य समस्या लगायतका रोगमा आयुर्वेदिक उपचारात्मक विधि प्रभावकारी भएको उनले सुनाए।
कतिपय स्वास्थ्य समस्यामा आधुनिक चिकित्सातर्फका चिकित्सकहरूले समेत आयुर्वेदिक औषधि उपचार विधि अपनाएको उनले अनुभव सुनाए।
पछिल्लो समय आयुर्वेदिक चिकित्सा विधाको विषयमा जनचेतना बढ्दै गएको र व्यक्तिको पहुँच पनि बढ्दै गएको उनले सुनाए। त्यसैले आयुर्वेद उपचारात्मक विधाप्रति बिरामीको विश्वास पनि बढिरहेको उनको अनुभव छ।
नसर्ने रोगको जोखिम कम गर्न समेत आयुर्वेदिक चिकित्सा पद्धति र आयुर्वेदिक जीवनशैली विधि अपनाउन आवश्यक रहेको डा. प्रशान्तको सुझाव छ।
सबै रोग आयुर्वेदिक उपचारात्मक विधिले नै ठिक हुन्छन् भन्ने पक्कै होइन। आयुर्वेदिक उपचार विधि अपनाउँदा ठिक नभएका बिरामीलाई उनी पनि आधुनिक उपचार विधिबाट उपचारका लागि रिफर गर्छन्। कुनै पनि एउटा चिकित्सा विज्ञान मात्रै पूर्ण हुँदैन भन्ने विषयका बारेमा उनी जहिल्यै सचेत रहन्छन्।
मंसिर १३, २०८२ शनिबार १३:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।