भेन्टिलेटरमा हिक्रिक-हिक्रिक गरिरहेका जेनजी आन्दोलनका १८ वर्षीय घाइते ढकबहादुर, कुरुवा घरमा आमाको संघर्ष
काठमाडौँ : त्रिवि शिक्षण अस्पतालको मुख्य भवनको पछाडि रहेको कुरुवा घरमा उद कुमारी खाना पकाइरहेको अवस्थामा भेटिइन्। उनी जेनजी आन्दोलनका घाइते लक्ष्मण भनिने ढकबहादुर नेपालीको आमा हुन्।
दश दिन भयो ढकबहादुरले मुखबाट खाना खान थालेको। उनी छोराका लागि खाना पकाइरहेकी रहिछिन्। खाना पकाउन अस्पतालमै ग्याँस सिलिन्डर जोडेकी छिन् उनले।
“लगभग तीन महिनादेखि राम्रोसँग खाना खाएको छैन उसले। कति आँत भरिएको होला भनेर उसले जे भन्छ त्यही पकाउने गर्छु,” उदकुमारी भन्छिन्, “तर उसले एकदुई चम्चा भन्दा बढी मुखमा हाल्दैन। कर गर्न पनि मन लाग्दैन। घाँटीमा भएको फलामले अड्किन्छ कि जस्तो लाग्छ।”
उनको साथमा दुई छोरी पनि छन्। ठुली छोरी कामको लागि भर्खरै पोखरा फर्किइन्। उनको साथमा दश कक्षामा पढ्दै गरेकी कान्छी छोरी र बहिनीकी छोरी छन् । कुरुवा घरको आइसियु- बि-३ लेखेर टालेको भित्ताको अगाडि म्याट ओछ्याएर उनी रात बिताउने गर्छिन्।
ढकबहादुर ५० दिनदेखि भेन्टिलेटरमा छन्। उदकुमारीका अनुसार अहिले मधुरो र अड्किएको आवाजमा बल नपारी बोल्न थालेका छन् उनी।
यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको थियो। परिवारको आग्रहमा थप उपचारको अस्पतालले काठमाडौँ पठाएपछि उनीहरू यतै छन्।
“पोखराकै सिडिओ भेट्न आउनु भएको थियो। तपाईँहरूले के चाहनुहुन्छ भन्नुभयो। मैले नै काठमाडौँ लगेर थप उपचार गर्न पर्यो भनेको हुँ,” उनले भनिन् , “उहाँको भन्दा यता धेरै सास फेर्न थालेको छ।”
‘गोली लागेको हैन, हानिएको हो’
भदौ २४ बिहानै १८ वर्षीय छोरालाई घरबाट बाहिर ननिस्कनु भन्दै उदकुमारी मेलापातमा गइन्। तर उनी घरमा बसेनन्। आन्दोलनमा सहभागी हुन हिँडिहाले।
“ममीलाई नभनिदेउ भनेर साथीहरूसँग निस्कनु भएको थियो,” आमासँगै साथमा बसेकी बहिनी ललिता नेपालीले उकेरासँग भनिन्।
मेलाबाट फर्किँदै थिइन् उदकुमारी, घर नपुग्दै साँझतिर अस्पतालबाट फोन आयो। सामान्य चोट लागेको होला भनेर उनी बुहारीसँग अस्पताल पुगिन्।
उनी अस्पताल पुग्दा रगतले लत्पतिएको लक्ष्मणलाई नर्सहरूले सफा गर्दै थिए। नयाँ जुत्ता र मोजा पुरै रगतले भिजेको थियो। पेटदेखि ढाडको पुरै भाग धसारिएको, छालाहरू पिल्सिएको थियो। अस्पतालमा उनले ढकबहादुरको अवस्था हेर्नै सकिनन्। आफैँ ढलिन्।
“साढे छ बजेतिर गोली लागेको रे। लागेको के भन्नु, हानेको हो नि त्यो त। मेरो बच्चालाई कति गाह्रो भइरहेको रहेछ,” आँसु रोक्दै उनले भनिन्,“मलाई साढे सात बजेतिर फोन आएको थियो। उसको रगत नआएको कुनै पनि ठाउँ थिएन। आँखा खोलिरहेको थिएन। मैले त हेर्न पनि सकिनँ।”
जति पुछे पनि उनको मुखबाट रगत बग्न रोकिएको थिएन। आँखा खोलेकै थिएनन्। जिब्रो चलाऊ त भन्दा बिस्तारै चलाएका थिए। एक्स-रे र एमआरआई गरेपछि घाइते ढकबहादुरलाई आइसियुमा राखियो। त्यसबेला देखि उनी भेन्टिलेटरमै छन्। प्रेसर सामान्य अवस्थामा नआउँदा शरीरमा भएको गोली झिकेर अप्रेसन गर्न पनि निकै समय लागेको उदकुमारीले बताइन्।
“छ दिनको दिन अप्रेसन भयो। स्पाइनल कर्डमा केके भयो भनेर पाता राखेर मात्र गोली निकालेको रहेछ। त्यसबेला मलाई डाक्टरले साइन गर्न लगाएका थिए। त्यो पेपरमा साइन गर्दा नि मलाई धेरै गाह्रो भएको थियो,” उनले भनिन्।
लक्ष्मणको गर्धनमा लागेको गोली कुमसम्म पुगेको थियो। त्यसले नसाहरूमा गम्भीर असर गरेकाले उनको घाँटीमुनिको कुनै पनि भाग चल्दैन। दिसा-पिसाब आएको समेत चाल पाउँदैनन्।
“डाक्टरहरूले त्यही बेला हात खुट्टा चल्न पनि सक्छ, नचल्न पनि सक्छ भनेका थिए। अप्रेसन गरे पनि होसमा आउन पनि सक्छ, नआउन पनि सक्छ सम्म भनेका थिए।”
गोली हानेपछि भित्र तानेर कुटियो
मादी गाउँपालिका वडा नम्बर आठमा उनीहरू बस्छन्। घरदेखि जिल्ला प्रहरी कार्यालयमा पुग्न ३५ रुपैयाँ भाडा लाग्छ। भदौ २३ मा काठमाडौंको नयाँ बानेश्वरमा जेनजी समूहमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएसँगै भदौ २४ मा देशभर आन्दोलन सुरु भएको थियो।
पोखरामा पनि आन्दोलन चर्किरहेको थियो। जिल्ला प्रहरी कार्यालय कास्की अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको थियो। ढकबहादुर त्यही भिडमा थिए। उनको घाँटीको पछाडि गर्दनमा गोली लाग्यो।
आफ्नो छोरासँगै आन्दोलनमा गएका साथीहरूले गोली हानेपछि पनि प्रहरी कार्यालय भित्र तानेर कुटेको बताएको सुनाइन् आमाले।अलिअलि बोल्न सक्ने भएपछि लक्ष्मणले पनि आफूलाई निकै बेरसम्म कुटेको बताएका रहेछन्।
घाँटीमा पाता र पाइप भएकाले उनको बोली प्रस्ट छैन। लक्ष्मणले बोलेको कुरा उदकुमारीले सहज रूपमा बुझ्दिनन्। त्यही भएर उनी आमासँग भन्दा बढी दिदी र बहिनीसँग कुरा गर्न सहज मान्छन् रे।
उनी निन्द्रा नपरेको समयमा मोबाइल हेरेर बस्छन्। बेलाबेला आत्तिने भएकाले उनलाई एक्लै छाडिएको छैन। आमा उदकुमारी वा दिदीबहिनी जो भए पनि एकजना उनको साथमै हुन्छन्।
लक्ष्मण र उनको परिवारलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगिसकिन्। उनीहरूले धेरै आश्वासन दिइरहेका छन्। तर परिवारलाई ढकबहादुरको स्वास्थ्यको चिन्ता छ। उनले छिनछिनमा सास फेर्न गाह्रो भए भन्दा परिवार झस्किरहेका छन्।
“यतिका दिन भइसक्यो अस्पताल बसेको। डाक्टरले हरेक दिन प्रयास गर्दैछौं मात्र भन्छन्” उदकुमारीले भनिन् “छोरो आत्तिएर बेलाबेलामा मेसिन घरमै राखेर बसौँ भन्छ। उसलाई कति गाह्रो भएको होला।”
अस्पताल र घरको दुखमा घेरिएको परिवार
अरूको खेतमा मेलापात गरेर गुजारा गर्छिन्, ढकबहादुरकी आमा उदकुमारी। बुबा भने वैदेशिक रोजगारीको लागि दुबईमा छन्। उनकी ठुली दिदी स्नातक तहमा पढ्दै र इन्टर्न गर्दैछिन्। उनले पनि आमालाई घर खर्चमा सघाउने गर्छिन्।
सानी बहिनी यसपालि एसइई दिने तयारीमा छिन्। ढकबहादुर पनि ११ कक्षामा पढ्दै थिए। आन्दोलनपछि त परिवारकै बास अस्पतालमा भएको छ।
काठमाडौँदेखि पोखरा र पोखरादेखि काठमाडौँ आउजाउ गर्न गाह्रो भएको उदकुमारी बताउँछिन्। अब छोरालाई उतै पोखरा लाने कि भन्ने सोचिरहेकी छिन् उनी।
“उताभन्दा यता राम्रो होला भनेर काठमाडौँ ल्याउन लगाइयो। यति लामो समयसम्म सबै काम छोडेर यहीँ बस्न अहिले समस्या भइरहेको छ,” उनी भन्छिन्, “उतै भयो भने अस्पतालमा एक जना बसेर अरू कामहरू गर्न हुन्थ्यो। अब बाबुले नि बेलाबेला घर नै जाने, सास फेर्न सक्छु भनेका छन् । कान्छीको अब एसइई छ । बिहानदेखि रातिसम्म पढ्न पर्ने मान्छे यहाँ हामीसँग अस्पतालमा बसेर नि हुन्न।”
तर घाइतेलाई घर लैजान त्यति सहज भने देखिँदैन। सास फेर्न अहिले पनि बेलाबखत गाह्रो हुने गरेको छ। उनले खानाको स्वाद थाहा पाउन सकेका छैनन्। नुन नै नहालेको खाना पनि नुन चर्को भयो भन्छन् रे। खुर्सानी नहालेको खाना पनि बेस्सरी पिरो भयो भन्छन्।
“घरीघरी गाह्रो भयो भनेर हिक्रिकहिक्रिक गरिरहेको हुन्छ। जे लेखेको छ त्यही भोग्नु पर्छ भनेर सम्हालेर बसेको छु,” उनी भन्छिन्, “ केही ठम्याउनै सकेको छैन।”
मंसिर १२, २०८२ शुक्रबार १५:३८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।