ताजिकिस्तानको दाबी : अफगानिस्तानबाट भएको ड्रोन आक्रमणमा चिनियाँ कम्पनीका ३ कर्मचारीको मृत्यु

ताजिकिस्तानको दाबी : अफगानिस्तानबाट भएको ड्रोन आक्रमणमा चिनियाँ कम्पनीका ३ कर्मचारीको मृत्यु

एजेन्सी : ताजिकिस्तानले आफ्नो सीमा क्षेत्रमा अफगानिस्तान तर्फबाट भएको ड्रोन आक्रमणमा एक चिनियाँ कम्पनीका तीन जना कर्मचारी मारिएको दाबी गरेको छ।

ताजिकिस्तानको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त ड्रोन आक्रमण ‘खतलान’ प्रान्तको सीमावर्ती इलाकामा भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार यो आक्रमणमा ग्रेनेड र हतियार बोकेका ड्रोनको प्रयोग गरिएको थियो।

ताजिकिस्तानको यो दाबीमा अफगानिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, चीनले भने यस विषयमा गम्भीरता देखाउँदै कदम चालेको छ।

विज्ञप्तिमा भनिएको छ कि ताजिकिस्तानले अफगानिस्तानसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्ने प्रयास गरिरहेको छ, तर यसका बाबजुद ‘अफगान भूमिमा रहेका आपराधिक समूहहरूबाट विध्वंसात्मक कार्यहरू जारी छन्।’

चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’का अनुसार, अफगानिस्तानस्थित चिनियाँ दूतावासले शुक्रबार एक सूचना जारी गर्दै अफगानिस्तान र ताजिकिस्तानको सीमामा हालै एउटा घटना भएको पुष्टि गरेको छ। उक्त घटनामा केही चिनियाँ नागरिकको मृत्यु भएको र केही घाइते भएको खबर छ।

दूतावासले प्रभावित क्षेत्रमा सुन खानीसम्बन्धी गतिविधिमा संलग्न चिनियाँ कम्पनी र कर्मचारीहरूलाई चेतावनी दिँदै, जतिसक्दो चाँडो उक्त क्षेत्र छोड्न आग्रह गरेको छ।

साथै, कुनै आपतकालीन अवस्था आएमा तुरुन्त स्थानीय प्रहरीसँग सम्पर्क गर्न र मद्दतका लागि दूतावासमा खबर गर्न पनि सुझाव दिइएको छ।

मंसिर १२, २०८२ शुक्रबार ०९:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।