ट्रम्प प्रशासनले अफगानिस्तानसहित १९ देशका ग्रीन कार्ड बाहकहरूको पुनः जाँच गर्ने

ट्रम्प प्रशासनले अफगानिस्तानसहित १९ देशका ग्रीन कार्ड बाहकहरूको पुनः जाँच गर्ने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १९ वटा देशबाट अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ‘ग्रीन कार्ड’को पुनः समीक्षा गर्ने बताएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एड्लोले भने, ‘राष्ट्रपतिले यी १९ देशका नागरिकहरूको ग्रीन कार्डको पूर्ण र कडा रूपमा पुनः जाँच गर्न निर्देशन दिनुभएको छ।’

बीबीसीले कुन-कुन देशका नागरिकहरू यो सूचीमा छन् भनी सोधेको प्रश्नमा एजेन्सीले ह्वाइट हाउसको जुन महिनाको एक घोषणालाई आधार मानेको छ।

ती देशहरूमा अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया, भेनेजुएला, म्यानमार, चाड, रिपब्लिक अफ कङ्गो,इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सिएरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन्।

ट्रम्प प्रशासनको यो घोषणा हालै वासिङ्टन डीसीमा भएको एक गोलीकाण्डपछि आएको हो। बुधबार एक अफगानी नागरिकले दुई जना नेसनल गार्डमाथि गोली प्रहार गरेका थिए, जसमा एक नेसनल गार्डको मृत्यु भएको छ।

राष्ट्रपति ट्रम्पले उक्त गोलीबारीले राष्ट्रिय सुरक्षामा ठूलो खतरा निम्त्याएको बताएका छन्।

आक्रमणमा संलग्न भनिएका संदिग्ध रहमानुल्लाह लकनवाल सन् २०२१ मा अमेरिका आएका थिए। उनी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानीहरूलाई दिइएको विशेष आप्रवासन सुरक्षा कार्यक्रम अन्तर्गत अमेरिका भित्रिएका थिए।

मंसिर १२, २०८२ शुक्रबार ०८:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।