देशको पहिलो ह्याकाथन सम्पन्न : ‘थिङ्क एआई’ उत्कृष्ट, नवप्रवर्तनको खोजी
काठमाडौं : नेपालमा समावेशी नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले पहिलो पटक एआई फर पिपल विथ डिसेबिलिटी (आइडा २०२५) नामक ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित यो देशकै पहिलो राष्ट्रिय एआई ह्याकाथन हो।
एआई ह्याकाथनमा ‘थिङ्क एआई’ले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रथम स्थान हासिल गर्यो। प्रतियोगितामा ‘मिसन चौरासी’ र ‘एक्सेस कोड’ क्रमशः फस्ट र सेकेन्ड रनर-अप घोषित भए भने ‘टिम सिनाप्टिक’ले उत्कृष्ट नवप्रवर्तनको उपाधि प्राप्त गर्यो।
सनफ्लावर स्पेक्ट्रम (आरएक्सपिन) द्वारा प्रस्तुत र प्रतीक इनोभेसन्सद्वारा आयोजित यस कार्यक्रमले प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउने र समावेशी समाज निर्माण गर्ने उद्देश्य राखेको थियो।
प्रतियोगितामा देशभरबाट ५८ भन्दा बढी आवेदन परेका थिए। तीमध्ये विचार, प्राविधिक प्रतिबद्धता र दीर्घकालीन योजनाका आधारमा उत्कृष्ट सात टोलीलाई फाइनलका लागि छनोट गरिएको थियो।
सुरुमा भर्चुअल 'आइडियाथन' मार्फत छानिएका शीर्ष सात टोलीले सनवे कलेजमा ३६ घण्टा बिताएर आफ्ना नमुनाहरू तयार पारेका थिए। सहभागीहरूले स्मार्ट गतिशीलता र सञ्चार, अटिजम र आर्टिफिशियल इंटेलिजेंस, डिजिटल हेरचाहकर्ता प्रणाली र श्रवण र वाक्-अशक्त सिकारुहरूका लागि शिक्षा प्रविधिका चार क्षेत्रमा प्रोटोटाइप विकास गरेका थिए। विज्ञ मेन्टरहरूले उनीहरूको विचारलाई वास्तविकतामा बदल्न मार्गदर्शन गरेका थिए।
जसमध्ये धेरै परियोजनाहरू पछि आइसिटी अवार्ड २०२५ स्टार्टअप र आइडियाफेस्टमा प्रदर्शन गरिएका थिए। युवा इन्जिनियर, शिक्षक र सामाजिक अभियानकर्मीहरू सहभागी यस कार्यक्रममा तीन जना अपाङ्गता भएका व्यक्तिहरू र करिब ४० प्रतिशत महिलाहरूको उपस्थितिले आइडालाई समावेशी कार्यक्रम बनाएको आयोजकको दाबी छ।
आरएक्स पिनद्वारा विकसित सनफ्लावर स्पेक्ट्रम, न्यूरोडाइवर्जेन्ट व्यक्तिहरू (विशेष गरी अटिजम भएका)को समावेशिता र जनचेतना बढाउने मञ्च हो। आइडा २०२५ मा उनीहरूको सहभागिता नेपालका भविष्यका आविष्कारकहरूलाई अपाङ्गता समावेशिताको महत्त्वबारे सचेत गराउनु थियो।
आरएक्सपिनका संस्थापक ध्रुव अधिकारीले युवाहरूमा सचेतना जगाउन र नवप्रवर्तनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन यो कार्यक्रम कोसेढुङ्गा साबित भएको बताए। यो ह्याकाथनले नेपालमा प्रविधिको प्रयोगमा जिम्मेवारी, सिर्जनात्मकता र सहानुभूतिलाई एकैसाथ अघि बढाएको छ।
प्रतियोगिताको समापनपछि, शीर्ष १६ टोलीहरूलाई परामर्श र अनुसन्धान सहकार्यको अवसरसहित दिगो सहायक प्राविधिक उद्यमका लागि इन्क्युबेसन प्रक्रियामा सामेल गरिने बताइएछ। इभेन्ट डाइरेक्टर जतिन भुसालले आइडा कार्यक्रम हरेक वर्ष आयोजना हुने जानकारी दिए। सनफ्लावर स्पेक्ट्रमले २०२६ मा अन्तर्राष्ट्रिय सम्मेलन 'एआई फर पिपल विथ डिसाबिलिटिज' आयोजना गर्ने प्रारम्भिक अवधारणा पनि बताएको छ।
मंसिर ११, २०८२ बिहीबार २२:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।