पूर्व सभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

पूर्व सभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा यसअघि जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध महरा उच्च अदालत पाटनमा पुगेका थिए।

उच्च अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरूका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गरेको हो। अदालतले महराको नाम मूल जाहेरीमा उल्लेख नभएको, सह-अभियुक्तहरूले पोल नगरेको र तत्काल प्राप्त प्रमाणहरूका आधारमा उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ।

भेपमार्फत सुन तस्करी प्रकरणमा सुरुमा उनीविरुद्ध मुद्दा चलाएको थिएन। पछिल्लो समय जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेर उनलाई थुनामा पठाउन आदेश दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई गत असोज २६ मा पक्राउ गरेको थियो। महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन्।

​​​​​​​

मंसिर ११, २०८२ बिहीबार १६:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।