सुप्रिम सहकारी प्रकरणमा रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
बुटवल : सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा तोकिएको पेशी लामिछानेकै कानुन व्यवसायीको आग्रहमा स्थगित गरिएको हो।
सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको तेस्रो नम्बरमा पेसी चढे पनि प्रतिवादी पक्षकै अनुरोधमा सुनुवाइ रोकिएको हो।
रुपन्देही जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछाने र जोशी त्यसविरुद्ध उच्च अदालत पुगेका हुन्। उनीहरूको मुख्य माग ‘धरौटी (बिगो) बुझाएर थुनाबाहिरै रही मुद्दा लड्न पाउनुपर्ने’ भन्ने छ।
लामिछानेले सुप्रिम सहकारीको कुल बिगो १० करोड ९९ लाख ३६ हजारमध्ये आफ्नो भागमा पर्ने चार भागको एक भाग करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने दाबी गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए।
तर, साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त माग अस्वीकार गर्दै उनलाई थुनामै राख्न आदेश दिएको थियो। सोही आदेश बदरको माग गर्दै उनीहरू उच्च अदालत गएका हुन्।
यसअघि कात्तिक २७ गते उच्च अदालतले मुद्दाको ‘सक्कल मिसिल’ झिकाउने आदेश दिएको थियो।
जिल्ला अदालतबाट सक्कल मिसिल सर्वोच्च अदालत पुगेका कारण सुरुमा प्रतिलिपि मात्र इजलासमा पेश भएको थियो। अदालतले लामिछाने र जोशी दुवैको निवेदनलाई एकसाथ राखेर सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
मंसिर ११, २०८२ बिहीबार १३:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।