अमेरिकाको ह्वाइट हाउस नजिकै गोलीकाण्ड मच्चिँदा दुई जना नेशनल गार्ड गम्भीर घाइते
एजेन्सी : अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस नजिकै भएको गोलीबारीमा परी दुई जना नेशनल गार्डका सदस्यहरू गम्भीर घाइते भएका छन्।
एफबीआईका निर्देशक काश पटेलले यस घटनाको पुष्टि गरेका हुन्। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार दिउँसो २:१५ बजे ह्वाइट हाउस नजिकै आक्रमणकारीले नेसनल गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए।
सीबीएस न्युजका अनुसार संदिग्ध आक्रमणकारीको नाम रहमानुल्लाह लकनवाल हो। उनी एक अफगानी नागरिक हुन् र सन् २०२१ मा अमेरिका आएका थिए।
सुरक्षाकर्मीसँगको मुठभेडमा आक्रमणकारी पनि घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारी ‘गम्भीर घाइते’ भएको बताएका छन्।
सुरुमा वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसिले दुवै नेसनल गार्डको मृत्यु भएको बताएका थिए। तर, पछि उनले आफूलाई उनीहरूको अवस्थाबारे फरक-फरक जानकारी आइरहेको भन्दै स्पष्टीकरण दिएका छन्। हाल उनीहरू गम्भीर घाइते रहेको बताइएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथका अनुसार, यो आक्रमण लगत्तै राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा थप ५०० नेशनल गार्ड तैनाथ गर्न आदेश दिएका छन्।
मंसिर ११, २०८२ बिहीबार ०८:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।