प्रमुख स्वकीय सचिव जोगाउन प्रधानमन्त्री कार्कीले सचिवालयका १४ जना हटाइन्, विवादित आदर्श भने कायमै

प्रमुख स्वकीय सचिव जोगाउन प्रधानमन्त्री कार्कीले सचिवालयका १४ जना हटाइन्, विवादित आदर्श भने कायमै

काठमाडौं : नेपोबेबी अभियानको बलमा बनेको सरकारको प्रधानमन्त्रीको सचिवालयमा क्षमता भन्दा नाताको आधारमा नियुक्ति भएको सार्वजनिक भएसँगै आलोचनाको केन्द्रमा परेपछि सुशीला कार्कीले सचिवालयका सदस्यहरू हटाएकी छिन्। २० सदस्यीय सचिवालयको संख्या ६ मा झारिन्। तर विवादको केन्द्रमा रहेका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने कायमै राखेकी छिन्।

सर्वोच्च अदालतमा करारको रूपमा प्रवेश गरेका कम्प्युटर इन्जिनियर आदर्शकुमार श्रेष्ठलाई सुशीलाले आफ्नो प्रमुख स्वकीय सचिव बनाएकी छिन्। अदालती गतिविधिमा विवादित छवि रहेका आदर्श अदालतमा नासुतहमा थिए। नासु तहका व्यक्तिलाई प्रधानमन्त्री कार्कीले निकै महत्त्वपूर्ण पदमा नियुक्त गराएदेखि नै विवाद र शङ्का बढाइएको छ।

यो बिचमा आदर्शले सचिवालयमा आफ्नी श्रीमती र केही नातेदारलाई नियुक्त गराएको खुलेसँगै प्रधानमन्त्री कार्कीमाथि नेपोबेबीको संरक्षण गरेको भन्दै दबाब बढेको थियो। जेनजी समूहसमेत प्रतिवाद र विरोधमा सक्रिय भएपछि कार्कीको निर्देशनमा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीको सचिवालयका १४ जनालाई हटाएर ६ जना मात्रै कायम गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकारका रूपमा अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकारका रूपमा गोविन्द नारायण तिमिल्सिना रहेका छन्। प्रमुख स्वकीय सचिवमा उनै आदर्शकुमार श्रेष्ठले निरन्तरता पाएका छन्। प्रेस संयोजकमा रामबहादुर रावल छन्। स्वकीय शाखा अधिकृत (फोटोग्राफर) मा केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) मा डा. मनबहादुर केसी रहेका छन्।

सो निर्णयबाट प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठकी श्रीमती संगीता श्रेष्ठको जागिर गएको छ। उनी सहसचिव सरहको सुविधामा स्वकीय सहसचिवमा नियुक्त भएकी थिइन्। कमला श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल, युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्टि डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ र मिरा अधिकारी हटेका छन्।

मंसिर १०, २०८२ बुधबार २३:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।