जेनजी आन्दोलनले गलेनन् देउवा, महाधिवेशन नगर्न पेल्दै इतर नेता
काठमाडौं : महाधिवेशन किन विशेष महाधिवेशन ?, त्यो पनि आगामी प्रतिनिधि सभाको निर्वाचन अगाडि कि पछाडि भन्ने बहस बढ्दै जाँदा नेपाली कांग्रेस आफैँ आन्तरिक विवादमा फसेको छ।
जेनजी आन्दोलनको बलमा सत्ताच्युत भएको पार्टीलाई युवा पुस्ताको माग अनुसार समयसापेक्ष बनाउन केन्द्रीय समितिका दुई महामन्त्रीसहित केही नेता सक्रिय छन्। तर संस्थापन पक्षका नेताहरूको निरन्तर पेलानका कारण सहमति हुनै सकेको छैन।
यसको प्रभाव केन्द्रीय समिति बैठकमा परेको छ। महाधिवेशनबारे सहमति खोज्ने भनेर मंसिर ६ गतेको बैठक ११ गते सारियो। तै पनि सहमति हुन सकेन।
संस्थापन पक्षधर सकेसम्म महाधिवेशनको मिति धकेल्ने रणनीतिमा छन्। दुई महामन्त्री विशेष महाधिवेशनको विकल्प छैन भनिरहेका छन्।
त्यसैले मंसिर ११ को बैठक अगाडि महाधिवेशनबारे सहमति जुटाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिच बुधवार रातिसम्म छलफल भए पनि सहमति हुन सकेन।
नेतृत्व ‘छाडेका’ देउवा नै बाधक
जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीबाट आफ्नै घरमा श्रीमतीसँगै कुटिएपछि नेतृत्व हस्तान्तरणमा नरम देखिएका देउवा सिंगापुरमा उपचार गरेर नेपाल फर्किएपछि गरम देखिन थालेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठक सुरुवात गर्दै अब सक्रिय राजनीति गर्ने इच्छा नभएको सार्वजनिक अभिव्यक्तिसहित कार्यवाहक खड्कालाई दिएर उनी सिंगापुर हिँडेका थिए।
सिंगापुरबाट फर्किएपछि उनले कतै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। तर महाधिवेशनबारे सहमति हुन नसक्नुको मूल कारक उनी नै देखिएका छन्।
संस्थापनइतर समूहका नेताहरूले देउवा नै सहमतिको मुख्य बाधक बनेका गम्भीर आरोप लगाइरहेका छन्। संस्थापन समूहका नेताहरूको व्यवहारले यो आरोपलाई नै बल दिइरहेको छ।
स्रोतको दाबी अनुसार सुशीला कार्कीको नेतृत्वको सरकार असफल बनाएर दलहरूको समर्थनमा स्वतन्त्र नागरिकको बहानामा अर्कै व्यक्तिलाई प्रधानमन्त्री बनाउने रणनीति बलियो बन्दै गएको देखेपछि नै देउवाको मन बदलिएको हो।
विशेष महाधिवेशन रोकिने कि अगाडि बढ्ने ?
सभापति देउवा नियमित महाधिवेशनको पक्षमा छन्। त्यसैले उनले विशेष महाधिवेशनको माग गर्ने प्रस्तावकहरूलाई प्रस्ताव फिर्ता लिन दबाब बढाइरहेका छन्। त्यसमा उनको समूहका नेताहरू सक्रिय छन्। २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको छ।
संस्थापन समूहका नेताहरू प्रस्तावहरूलाई मनाउन सक्रिय भए पनि विशेष महाधिवेशनको माग गर्ने नेताहरू प्रस्ताव फिर्ता लिन मानिरहेका छैनन्। देउवा पक्षधर नेताहरूले नियमित महाधिवेशनबाटै नेतृत्व परिवर्तन हुने आश्वास दिँदै विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन मनाइरहेका छन्।
तर प्रस्तावमा हस्ताक्षर गरेकाहरूले नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विशेष महाधिवेशन ‘घर्काउने’ प्रयास भन्दै आफ्नो प्रस्तावमा अडिग देखिएका छन्।
असोजदेखि प्रयास तर सहमतिमा शून्य
कांग्रेसले बदलिएको राजनीतिक अवस्था हेरेर असोज २८ देखि पटक–पटक केन्द्रीय समितिको बैठक बोलाए पनि महाधिवेशनबारे सहमति हुन सकेको छैन।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन अगाडि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन्। महाधिवेशन नभए निर्वाचनमा उम्मेदवार नहुनेसम्मको चेतावनी दिइसके दुवैले।
थापाले त पुस १६–१९ भित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। तर संस्थापनका नेताहरू गगनको प्रस्तावलाई काउन्टर दिँदै निर्वाचन अगाडि महाधिवेशन हुनै नसक्ने दाबी गरिरहेका छन्।
यता विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंमा पटक पटक बैठक र कार्यक्रम गरेर दबाब बढाइरहेका छन्। यसले सङ्कटको बेलामा काङ्ग्रेसभित्र ध्रुवीकरण झन् बढेको छ।
अहिले संस्थापन पक्षका नेताहरू सामाजिक सञ्जालमार्फत गगन र विश्वप्रकाशमाथि आक्रामक टिप्पणी गरिरहेको छ। संस्थापन पक्षका केन्द्रीय सदस्यहरू दुवै महामन्त्रीमाथि “पार्टीलाई डिरेल गराएको” आरोप लगाउन सक्रिय छन्।
विशेष महाधिवेशनको पक्षमा रहेकाहरूले पनि संस्थापन पक्षका नेताहरूलाई सामाजिक सञ्जाल र कार्यक्रममार्फत जवाफ फर्काइरहेका छन्।
कांग्रेस विधान अनुसार विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको ३ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रावधान छ।
मंसिर १०, २०८२ बुधबार २३:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।