‘बत्ती किन नबालेको?’-होस खुलेपछि सन्तोषको पहिलो प्रश्न, तर जेनजी आन्दोलनको गोलीले उनको संसार अँध्यारो बनाइसकेथ्यो

‘बत्ती किन नबालेको?’-होस खुलेपछि सन्तोषको पहिलो प्रश्न, तर जेनजी आन्दोलनको गोलीले उनको संसार अँध्यारो बनाइसकेथ्यो

काठमाडौं : शिक्षण अस्पताल महाराजगन्जको तेस्रो तलामा रहेको ‘न्यूरो सर्जरी वार्ड’को ४१२ कोठाको ढोका बन्द थियो। ढकढक्याए लगत्तै बाक्लो कपडा र टोपी लगाएकी एक महिलाले बिस्तारै ढोका खोलिन्।

“भित्र आउन हुन्छ?”

उनले ‘अं आउनु’ भनिन्। नजिकै कुर्सी थियो। त्यतै बसेँ।

जेनजी आन्दोलनका घाइतेहरूको अवस्था के छ भनेर खोज्ने क्रममा ढकबहादुर नेपालीको नाम आएको थियो। ‘ढकबहादुर, दुवै आँखा गुमेको, शिक्षण अस्पतालमा उपचाररत’ यत्ति थियो जानकारी। यही सूचनाका आधारमा अस्पतालमा खोज्दाखोज्दै ढकबहादुर भेटिएनन्।

कहिले गार्ड त कहिले नर्सलाई सोध्दै न्यूरो वार्डहुँदै न्यूरो सर्जरी वार्डमा पुग्दा जेनजी आन्दोलनका घाइते त भेटिए। तर ढकबहादुर हैन सन्तोष बोहोरा भेटिए।

साँघुरो कोठामा अस्पतालको बेडले नै कोठाको अधिकांश भाग ढाकेको थियो। झ्यालको पर्दा उघारिएको थिएन। साँझ भइसक्दा पनि कोठामा बत्ती बालिएको थिएन। अँध्यारै थियो। भित्तातिरको बेडमा थिए सन्तोष।

यसो उनीतिर हेरेँ, बाक्लो ब्ल्यांकेट ओढेर पल्टिरहेका थिए। उनको टाउकोमा पुरै पट्टी बाँधिएको थियो। शैयाको खुट्टापट्टि केही कपडाको पोको थियो। नजिकै बस्ने सानो कुर्सी, कुर्सीसँगै टाँसिएको अस्पतालको सानो दराज। दराजमाथि औषधीको चाङ, केही फलफूल, खानेकुरा र पानी तताउने इलेक्ट्रिक जग।

आन्दोलन अगाडि, आन्दोलनको दिन र अहिले  सन्तोष बोहोराको अवस्था।श्रीमानलाई एभोकाडो खुवाइरहेकी थिइन् निर्मला। दुबैबीच सामान्य कुराकानी भइरहेको थियो। कोठामा नयाँ व्यक्ति आउँदा पनि सन्तोष प्रतिक्रियाहीन थिए। उनी बेडमा हलचल नगरी बसिरहे।

किन होला?

कारण खुल्यो, आन्दोलनकोक्रममा उनको दुवै आँखै रहेनछ। सुन्ने क्षमता पनि गुमेकाले कोठामा को आयो या गयो उनलाई के थाहा?

‘बोल्न सक्नुहुन्छ ?’

निर्मलाले ‘हुन्छ। तर अलि ठुलो स्वरले कुरा गर्नु। बिस्तारै जवाफ दिनुहुन्छ’ भनिन्।

सन्तोषको नजिकैको कुर्सीमा बसेर उनीसँग कुरा गर्ने कोसिस गरेँ। उनको अवस्था हेर्दा बोल्न सक्लान् जस्तो देखिन। तै पनि जिज्ञासा राखेँ ‘दाइ दुखाई कत्तिको छ?’

‘दुखाइ त अलि अलि छ’ सानो स्वरमा उनले जवाफ दिए।

बोल्दा उनलाई सहज नभएको महसुस गरेकाले धेरै प्रश्न सोध्न मन लागेन। उनको श्रीमतीसँग कुरा गर्न सहज हुने लाग्यो। तर कोठा पुरै अँध्यारो।

‘बत्ती बाल्न मिल्दैन?’

“बत्ती बाले पनि, नबाले पनि केही फरक पर्ने हैन क्यार” भन्दै उनले भित्ताको स्विच थिचिन्।

OOO

भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै जेनजी पुस्ता सडकमा आउँदा वीरेन्द्रनगर शान्त थियो। जब काठमाडौंको प्रदर्शनमा गोली चल्दा १९ जनाको ज्यान गएको खबर बाहिरियो त्यसले काठमाडौं मात्रै हैन देशलाई नै अशान्त बनायो।

सुर्खेत वीरेन्द्रनगरको वडा नम्बर दुई ठौरीगाउँमा रहेका २६ वर्षका सन्तोष विदेश जाने तयारीमा थिए। विद्यालय पोशाकमा शान्तिपूर्ण प्रदर्शन गर्न गएकाहरूको टाउकोमा गोली हानेको समाचार पढ्दा अनि भिडियोहरू हेर्दा उनी रातभर निदाउन सकेनन्।

२३ गतेको घटनाको विरोधमा भोलिपल्ट देशभरका जेनजीसँगै उनका अभिभावकहरू पनि सडकमा उत्रिन थाले। सन्तोष पनि घरमा बस्न सकेनन्। राष्ट्रिय झन्डा लिएर उनी पनि घरबाट निस्किए।

उनको घरको आधा घण्टाको दुरीमा छ वीरेन्द्रनगर नगरपालिको भवन। आन्दोलनकारीहरु त्यतै गइरहेका थिए। उनी पनि भिडमा मिसिएर त्यतै लागे। बच्चाहरूलाई गोली हान्ने भन्दै प्रदर्शनकारीहरू उग्र भइरहेका थिए। उनीहरूले नगरपालिकाको भवनमा ढुंगामुढा सुरु गरे। तोडफोड सुरु भएपछि सुरक्षाकर्मीले गोली चलाउन थाले।

त्यही भिडमा रहेका सन्तोष दिउँसो साढे दुई बजेतिर भिडमा ढले। दायाँ आँखामाथिको हड्डीमा गोली लागेको थियो। उनको अनुहार रगतले छोपियो। उनको घाँटीमा नेपालको झन्डा बाँधिएको थियो।

सन्तोषको अवस्था देखेपछि प्रदर्शनकारीमध्ये केहीले उनलाई सुर्खेतको प्रदेश अस्पतालमा लगे। घटनास्थल घरबाट नजिकै भए पनि सन्तोषको परिवारले भने करिब दुई घण्टापछि मात्रै थाहा पाए।

“मैले त नजानु भनेको हुँ। तर झन्डा ओढेर अगाडि अगाडि जानु भएछ। प्रहरीले गोली सिधै आँखा अगाडि हानेछ,” निर्मलाले उकेरासँग भनिन् “अस्पतालमा भेट्दा पुरै टाउको बेरिनेगरि पट्टी बाँधिएको थियो। त्यहीँको मान्छेहरूले अस्पताल ल्याइदिनु भएको रहेछ।”

उनको अवस्था जटिल थियो। चिकित्सकहरूले पनि अवस्था जटिल छ भन्दै नेपालगन्जको सञ्जीवनी मेडिकल कलेज लैजान भने। परिवारसहितले उनलाई नेपालगन्ज पुर्यायो। त्यहाँ पुगिसक्दा समेत सन्तोषको रगत बग्नेक्रम रोकिएको थिएन।

आँखामाथि लागेको गोलीले उनको मष्तिष्कमा मात्र हैन, आँखा अनि कानमा समेत असर पारेको थियो। नेपालगन्जमा आवश्यक उपचार भयो। गोलीले उनको आँखाको दुवै नानी कामै नलाग्ने गरी असर पारेको रहेछ। आँखाको दुवै गेडी नै निकालियो।  डेढ महिना नेपालगन्जमा उपचारहुँदा ठूला तीन अप्रेसन भए।

टाउकोको अप्रेसन त्यता नहुने भएपछि अस्पतालले काठमाडौँ लैजान भन्यो। अनि उनको परिवारले कात्तिक १४ मा उनलाई नेपालगन्जबाट काठमाडौँको शिक्षण अस्पताल ल्यायो। यहाँ ल्याएपछि उनको टाउकोको एक पटक अप्रेसन भइसकेको छ।

घटना भएको नौ दिनपछि सन्तोष होसमा आएका थिए। त्यो बेलामा उनको दुवै आँखाको नानी निकालिएको थियो। तर उनलाई के थाहा र!

“होसमा आउनु भएपछि बत्ती बालन किन अँध्यारो पारेको भन्नुहुन्थ्यो,” खड्काले गला अवरुद्ध पार्दै सुनाइन्, “मैले आँखा खोल्न सकिरहेको छैन भन्नुहुन्थ्यो। आँखा सधैँको लागि नदेख्ने भएको थाहा पाउनु भएपछि केही भन्नुभएको छैन। आजकल त दुखे पनि दुख्यो भन्नु हुन्न।”

न आँखा रह्यो न कान

उनलाई शिक्षण अस्पतालमा भेट्न टाउकोको एकापट्टिको भाग नै थिएन, खाल्डो परेको थियो। त्यसमा लहरै टाँका लगाइएको बाहिरैबाट देखिन्थ्यो। आँखाको दुवै नानीको ठाउँमा खाल्डो थियो। अनि कान ढाक्ने गरी पट्टी लगाइएको थियो।

अहिले सन्तोषको दुवै आँखा अनि दायाँ कानले काम गर्दैन। गोलीले उनको टाउको र अनुहारको धेरै नसाहरूमा असर गर्दा शरीरको एकापट्टिको पुरै भाग पक्षघात हुनसक्ने जोखिम कायमै देखियो। चिकित्सकले परिवारका सदस्यलाई सुस्तमनस्थिती हुन सक्ने जोखिमबारे जानकारी गराएका छन्।

श्रीमानको उपचारकाक्रममा शिक्षण अस्पतालमा रहेकी निर्मला।“दायाँ आँखा भन्दा ठ्याक्कै माथिको हड्डीमै गोली लागेको रहेछ। त्यै गोली उछिट्टिएर अर्को आँखामा समेत गोली लाग्दा दुवै आँखाको नानी ड्यामेज् भएछ,” शैयामा पल्टिरहेको आफ्नो श्रीमानलाई हेर्दै निर्मला भनिन्, “त्यसैले गर्दा दाहिने कान सुन्न सक्नु हुन्न। नाकमा पनि असर गरेछ। गन्धहरू चाल पाउनुहुन्न। सास फेर्न समेत अप्ठ्यारो हुन्छ। ज्यान बचाउन जे-जे गर्नुपर्थ्यो डाक्टरहरूले गर्नुभयो। तर अझै उपचार बाँकी छ।”

स्वास्थ्य अवस्थाबारे सन्तोषसँग कुरा गर्दा मधुरो र अड्किएको आवाजमा भने, “दुखाइ अलि अलि हुन्छ।” उनी यत्ति भनेर बेडको भित्तापट्टि फर्किए। यता उनको श्रीमती निर्मलाको आँखा आँसुले भरिएका थिए। उनले आँसु रोक्ने प्रयास गरिरहिन्।

निर्मलाले दिएको जानकारी अनुसार आँखाको नानीमै गम्भीर क्षति पुगेकाले दुवै नानी निकालियो।  चर्केको हड्डी निकालेर गिदी आफै भरिन दिइयो। त्यसपछि हड्डीको ठाउँमा फलामको प्लेट राखियो।

“गोलीले हड्डीमा त क्षति गर्यो कि, गिदी पनि बाहिर निस्किएको थियो,” निर्मलाले भनिन् “डाक्टरले त त्यसबेला बाँच्ने/नबाँच्ने एकिन छैन भन्नु भएको थियो। यतिसम्म भयो।”

सरकारको आस मात्रै

सन्तोषलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्यालसम्म अस्पताल पुगे। दुवैले सरकारले हेर्छ भनेर आश्वासन दिए। काठमाडौँका प्रमुख जिल्ला अधिकारी अस्पतालमै पुगेर जेनजी आन्दोलनको घाइतेको कार्ड दिए। तर समस्या बढेको बढ्यै छ उनीहरूको।

नेपालगन्जमै  डेढ महिनाजति अस्पतालमा बसेका सन्तोषको अहिलेसम्म चार वटा अप्रेसन भइसकेको छ। तर अझै कति दिन अस्पतालमा बस्नु पर्ने हो एकिन छैन। सरकारले स्वास्थ्य उपचार र औषधी सबै नि:शुल्क भने पनि परिवारको व्यक्तिगत खर्च बढेको बढ्यै छ।

नेपालगन्जको अस्पतालमा उपचार गर्दा बाहिरबाट ४५ हजार बराबरको औषधी किन्नु परेको निर्मलाले सुनाइन्। उनका अनुसार सन्तोषको उपचारमा व्यक्तिगतै ७ लाखसम्म खर्च भइसक्यो।

कुरुवाको खर्च भिन्दै छ। सन्तोषसँग उनको श्रीमती पुरै दिन अस्पतालमै हुन्छिन्। अस्पतालको भुईँमा सुत्छिन्। तर सन्तोषको बुबा र एक आफन्त पनि  काठमाडौँ आएका छन्। उनीहरू आफ्नै खर्चमा होटेलमा बसिरहेका छन्।

“सरकारले घाइतेलाई भनेर आजसम्म दिएको जम्मा २० हजार हो। कुर्न बस्नै पर्छ। यसमा निकै खर्च भइरहेको छ। झन् हामी जस्तो टाढाबाट आउनेको लागि काठमाडौँमा बस्न निकै गाह्रो छ” उनले भनिन्।

भविष्य सोचेर आत्तिएकी निर्मला

सन्तोष दुई वर्ष माल्दिभ्स बसेर आएका थिए। आठ महिना अगाडि अब क्रोएसिया जाने भनेर नेपाल फर्किएका थिए उनी। निर्मला नगरपालिकाकै भेटनरीमा काम गर्छिन्। त्यसबाहेक सानो पसलमा सासुलाई साथ दिने गर्थिन्। गाउँमा सासू-ससुरा बाहेक चार वर्षकी सानी छोरी छिन्। निर्मला र सन्तोषले छोरी नभेटेको पनि लगभग तीन महिना हुन लाग्यो।

सन्तोषको ज्यान जोगियो। यसमा परिवारका सदस्य खुसी देखिए। तर तर पूर्ण उपचार भइसकेको छैन। पक्षघातको जोखिम उस्तै। परिवारमा कमाउने उनी मात्र। उनको आँखाको ज्योति गयो। सानी छोरी छ। २६ वर्षको उमेरमा थला पर्दा सन्तोषको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरको जोखिम छँदैछ। त्यसैले अब भोलिको दिन के हुने होला भनेर निर्मला भने आत्तिएको देखियो।

“सासू-ससुरा घरमै खेतिपाती गर्नु हुन्छ। घरको एउटा मात्र कमाउने छोरो उहाँ (सन्तोष) नै हो। उहाँको पनि यस्तो भयो” निर्मलाले भनिन् “घाइते मात्र होइन, अपांगता नै भएको छ। आँखा र कान नै काम नगरेपछि एकजना मान्छे त जिन्दगीभर साथमा हुनै पर्छ। यसरी अङ्गभङ्ग पारिएको घाइतेको परिवारलाई सरकारले के गर्छ थाहा छैन। सरकारले सोच्नु पर्ने हो।”

मंसिर १०, २०८२ बुधबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।