रास्वपा र विवेकशील साझाबिच एकीकरणको सहमति, आइतबार घोषणा
काठमाडौं : वैकल्पिक राजनीतिक मुद्दामा जन्मिएको विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच पार्टी एकता गर्ने घोषणा भएको छ। दुवै दलबीच बुधवार पार्टी एकीकरण गर्ने सहमति भएको। दुवै दलबिचको एकताको घोषणा आइतबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर गर्ने तयारी भएको छ।
अन्य दलहरूसँग एकीकरण र सहकार्यका लागि विवेकशीलले पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारको संयोजकत्वमा समिति बनाएको थियो। उनको प्रस्ताव पारित गर्दै रास्वपासँग एकीकरणको टुंगो लागेको हो। दुवै दलबिचको एकीकरणको खाका भने सार्वजनिक भएको छैन।
रवीन्द्र मिश्रको नेतृत्वमा बनेको साझा पार्टी र उज्ज्वल थापाको संयोजकत्वमा रहेको विवेकशील दलबीच एकीकरण भएर विवेकशील साझा बनेपछि विवादपछि थापा समूह अलग भएको थियो। पछि अन्य नेताहरू पुन साझामै फर्किएका थिए। मिश्र भने आफ्नो समूह लिएर राप्रपामा गएका थिए।
प्रारम्भमा स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा विवेकशील साझाको प्रभाव देखिए पनि पछिल्लो समय भने यो पार्टी प्रभावहीन बन्दै गएको थियो। २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा विवेकशील साझाको प्रभाव देखिएन। यही निर्वाचनबाट रवि लामिछानेको नेतृत्वमा बनेको रास्वपाले भने प्रतिनिधि सभामा उल्लेख्य उपलब्धि हासिल गर्दै चौथो दल बनेको थियो। पार्टीका सभापति लामिछाने अहिले सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।
मंसिर १०, २०८२ बुधबार १८:५७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।