मन्त्री घिसिङको विवादित अभिव्यक्ति- मान्छे काट्नभन्दा एउटा रुख काट्न गाह्रो छ

मन्त्री घिसिङको विवादित अभिव्यक्ति- मान्छे काट्नभन्दा एउटा रुख काट्न गाह्रो छ
फाइल तस्बिर

काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङले नेपालका कडा कानुनी प्रावधानहरूका कारण प्राकृतिक स्रोतको उपयोग र विकास निर्माणमा ठूलो बाधा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौंमा आयोजित ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै घिसिङले वन तथा वातावरणसम्बन्धी अव्यवहारिक कानुनका कारण एउटा रुख काट्न पनि वर्षौं लाग्ने स्थिति भएको बताए।

विकास आयोजना अघि बढाउँदा वन क्षेत्रमा भोग्नुपरेको कानुनी झन्झटप्रति संकेत गर्दै घिसिङले विवादित अभिव्यक्ति दिएका हुन्।

उनले भने, ‘मलाई भन्न कुनै हिचकिचाहट छैन, आज एउटा वन (रुख) काट्नु र मान्छे काट्नुमा, वन काट्न धेरै गाह्रो छ। ५ वर्षमा एउटा रुख काट्न गाह्रो छ। यस्ता ऐन कानुन राखेर देश विकास हुँदैन।’

उनले आगामी दिनमा नयाँ नेतृत्वले यी कानुनी अड्चनहरूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

घिसिङले नेपालको वनजंगलमा काठ कुहिएर गइरहेको तर विदेशबाट अर्बौंको काठजन्य सामग्री आयात भइरहेको विरोधाभासपूर्ण अवस्थाबारे समेत बताए

उनले भने, ‘वनलाई कुहाएर, सिनो ख्वाएर इकोलोजी बचाउने नाममा हामीले स्रोत (Resource) बन्द गरेर राखेका छौँ। तर, चीन र मलेसियाबाट ३-४ खर्बको काठ र फर्निचर आयात गरिरहेका छौँ।’

घिसिङले नेपालको ढुंगा, गिट्टी र बालुवालाई पनि आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने बताए। बंगलादेशले भुटानबाट दैनिक ५ सयभन्दा बढी ट्रक ढुंगा-माटो लगिरहेको उदाहरण दिँदै उनले नेपालमा भने ढुंगा-माटो छुनै नहुने गरी अतिवादी सोच हाबी भएको बताए।

‘हामीसँग ढुंगा माटो कति छ कति, सबै पैसा नै पैसा हो। तर हामी निकाल्नै हुँदैन भनेर बसिराखेका छौँ’, उनले भने।

घिसिङले वातावरणलाई पूर्ण रूपमा बेवास्ता गर्ने नभई, निश्चित क्षेत्र बाहेकका स्थानबाट स्रोतको निकासी गरी देशलाई धनी बनाउन सकिने तर्क गरे।

मंसिर १०, २०८२ बुधबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।