थ्यांक्सगिभिङ डे : ट्रम्पद्वारा दुई वटा टर्की चरालाई ‘जीवनदान’, बाइडेनमाथि गरे व्यङ्ग्य

थ्यांक्सगिभिङ डे : ट्रम्पद्वारा दुई वटा टर्की चरालाई ‘जीवनदान’, बाइडेनमाथि गरे व्यङ्ग्य

काठमाडौं : अमेरिकामा ‘थ्यांक्सगिभिङ डे’ को अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा टर्की (चरा) लाई क्षमादान दिएका छन्।

ह्वाइट हाउसमा आयोजित एक विशेष समारोहमा ट्रम्पले ‘गबल’ र ‘वाडल’ नामका दुई टर्कीलाई माफी दिँदै जीवनदान दिएका हुन्।

समारोहका क्रममा ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनमाथि व्यङ्ग्य पनि गरे।

उनले ठट्टा गर्दै भने, ‘बाइडेनले गत वर्ष ‘अटो-पेन’ (मेसिनबाट हुने हस्ताक्षर) मार्फत टर्कीलाई माफी दिएका थिए, त्यसैले म त्यो माफीलाई मान्य ठान्दिनँ।’

यसपटक समारोहमा थोरै परिवर्तन गरिएको थियो। मेलानिया ट्रम्पको कार्यालयले कुन टर्कीलाई मञ्चमा उभ्याउने भनेर जनतामार्फत भोटिङ गराएको थियो।

भोटिङमा ‘गबल’ ले जित्यो। ट्रम्पले भाषण गरिरहँदा गबलले पटक-पटक चर्को आवाज निकालेर अवरोध गरेपछि माहोल हाँसो र ठट्टाले भरिएको थियो।

नर्थ क्यारोलाइनामा हुर्किएका यी टर्कीहरूको तौल क्रमशः २३ र २२ किलो छ। ह्वाइट हाउस ल्याउनुअघि तिनलाई भीडभाड, बत्ती र शोरगुलको बानी पारिएको थियो। वासिङ्टनमा तिनीहरूलाई एक विलासी होटलको सुइटमा राखिएको थियो।

समारोहपछि अब यी दुवै टर्कीलाई नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटीमा लगिनेछ, जहाँ तिनीहरूले आफ्नो बाँकी जीवन आरामसँग बिताउनेछन्।

अमेरिकी राष्ट्रपतिले टर्कीलाई माफी दिने परम्परा निकै पुरानो हो। सन् १८६३ मा राष्ट्रपति अब्राहम लिंकनका छोरा ट्याडले क्रिसमस डिनरका लागि ल्याइएको टर्कीलाई नमार्न बुवासँग आग्रह गरेपछि लिंकनले त्यसलाई माफी दिएका थिए। यो नै पहिलो घटना मानिन्छ।

सन् १९४७ देखि ह्वाइट हाउसमा टर्की उपहार पठाउने चलन सुरु भयो। सुरुमा यसलाई खाइन्थ्यो। तर, १९८९ मा राष्ट्रपति जर्ज एच. डब्लु. बुसले पहिलो पटक औपचारिक रूपमा प्रेसकै अगाडि टर्कीलाई ‘क्षमादान’ दिए। त्यसयता हरेक राष्ट्रपतिले यो परम्परा निभाउँदै आएका छन्।

मंसिर १०, २०८२ बुधबार १०:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।