ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ट्रम्पद्वारा न्यायाधीशको अमेरिकी भिसा रद्द

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ट्रम्पद्वारा न्यायाधीशको अमेरिकी भिसा रद्द

एजेन्सी : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाएको छ। मंगलबार अदालतले यो फैसला सुनाएको हो।

सन् २०२२ को राष्ट्रपति निर्वाचनमा पराजित भए पनि सत्तामा टिकिरहनका लागि उनले वर्तमान राष्ट्रपति लुला डा सिल्भाको सरकार गिराउने षड्यन्त्र गरेको आरोप पुष्टि भएको छ।

सुनुवाइका क्रममा बोल्सोनारोको कानुनी टोलीले अदालतको फैसलाविरुद्ध अन्तिम पुनरावेदन गरेन। त्यसपछि न्यायाधीश अलेक्जेन्डर मोरेसले २७ वर्षको सजाय तत्काल लागू गर्ने आदेश दिएका हुन्।

न्यायाधीशको आदेशअनुसार बोल्सोनारोलाई हाल राजधानी ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा राखिएको छ। भाग्ने आशंकाका कारण उनलाई शनिबार नै पूर्व गिरफ्तारी गरिएको थियो।

के थियो ‘कू’ को योजना?
सरकारी वकिलहरूका अनुसार चुनाव हारेपछि सत्ता जोगाउन बोल्सोनारोले सर्वोच्च अदालतमा आक्रमण गर्ने, सैन्य विद्रोहमार्फत चुनावी नतिजा उल्टाउने, ‘इलेक्ट्रोनिक एंकल मनिटर’ जलाएर भाग्ने तथा राष्ट्रपति लुला डा सिल्भा र न्यायाधीश मोरेसको हत्या गर्ने योजना बनाएका थिए।

बोल्सोनारोका वकिलहरूले उनको खराब स्वास्थ्यको कारण देखाउँदै घरमै नजरबन्दको माग गरेका थिए, तर अदालतले यसलाई अस्वीकार गर्यो।

बोल्सोनारोले खुट्टामा बाँधिएको ‘इलेक्ट्रोनिक एंकल मनिटर’बिगार्ने प्रयास गरेको अदालतले जनाएको छ। उनले भुलवश यस्तो भएको दाबी गरे पनि अदालतले सार्वजनिक गरेको भिडियोमा उनले भाग्ने नियतले सोल्जरिङ आइरन प्रयोग गरेर डिभाइस जलाउन खोजेको देखिएको छ। यद्यपि, त्यो डिभाइस अझै उनको खुट्टामै छ।

अन्य दोषीलाई पनि जेल
यस प्रकरणमा पूर्व जनरल अगस्टो हेलेनो र पूर्व सैन्य अधिकारी पाउलो सर्जियोलाई सैन्य केन्द्रमा पठाइएको छ।

पूर्व न्यायमन्त्री एन्डर्सन टोरेस र एडमिरल अलमिर गार्नियरलाई पनि जेल सजाय तोकिएको छ। सांसद तथा पूर्व गुप्तचर प्रमुख अलेक्जेन्डर रामेजम भने अमेरिका भागेका छन्।

बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिन्छन्। ट्रम्पले ब्राजिलको अदालतको यो फैसलालाई प्रतिशोधपूर्ण कारबाही भन्दै आलोचना गरेका छन्।

ट्रम्पले आफूले चाँडै बोल्सोनारोलाई भेट्ने योजना बनाएको बताउँदै ब्राजिलबाट आयात हुने सामानमा ५० प्रतिशत कर लगाइदिएका छन् भने न्यायाधीश मोरेसको भिसा पनि रद्द गरिदिएका छन्।

यसअघि अगस्टमा पनि सर्वोच्च अदालतले उनलाई नजरबन्दमा राख्ने आदेश दिएको थियो। नजरबन्दमा रहँदा उनले आफ्ना छोराहरूमार्फत र्यालीलाई सम्बोधन गरेर नियम उल्लंघन गरेको अदालतको ठहर थियो। त्यसपछि उनको घरबाट मोबाइल जफत गरी खुट्टामा ट्र्याकिङ डिभाइस लगाइएको थियो।

मंसिर १०, २०८२ बुधबार ०९:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।