युक्रेन अमेरिकी शान्ति योजनामा ​​सहमत, ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीलाई भेट्ने

युक्रेन अमेरिकी शान्ति योजनामा ​​सहमत, ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीलाई भेट्ने

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि तयार पारिएको ‘शान्ति सम्झौता’मा अमेरिकासँग सहमति जुटेको बताएका छन्।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए। सो प्रस्तावमाथि गत सप्ताहान्तमा जेनेभामा छलफल गरी त्यसलाई परिमार्जन (अपडेट) गरिएको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै सुरुवाती अमेरिकी योजनामा दुवै पक्षका सुझावहरू समेटिएको र अब असहमति जनाउनुपर्ने थोरै विषय मात्र बाँकी रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यो शान्ति योजनालाई अन्तिम रूप दिने आशासहित मैले विशेष दूत स्टिभ विटकफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको छु। सोही समयमा आर्मी सेक्रेटरी ड्यान ड्रिस्कलले युक्रेनी प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्।’

ट्रम्पले शान्ति सम्झौताले अन्तिम रूप लिएपछि वा अन्तिम चरणमा पुगेपछि मात्र आफूले राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीसँग भेट्ने स्पष्ट पारेका छन्।

यद्यपि, रुसले नयाँ मस्यौदा सम्झौताबारे आफूसँग परामर्श नगरिएको जनाएको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चेतावनी दिँदै भनेका छन्, ‘मस्को सुरुवाती अमेरिकी फ्रेमवर्कको पक्षमा थियो, तर यदि यसमा ठूलो परिवर्तन गरिएको छ भने स्थिति पूर्ण रूपमा फरक हुनेछ।’

लाभरोभले मंगलबार बिहानसम्म क्रेमलिनलाई नयाँ योजनाको प्रतिलिपि प्राप्त नभएको बताउँदै युरोपले अमेरिकी शान्ति प्रयासलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन्। यसअघि सोमबार र मंगलबार अबुधाबीमा पनि ड्यान ड्रिस्कल र रुसी प्रतिनिधिहरूबीच भेटवार्ता भएको थियो।

सुरुमा यो शान्ति योजनाप्रति असन्तुष्टि जनाएका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले भने यसमा सहमति जनाएका छन्। उनले यही महिनाको अन्त्यसम्ममा ट्रम्पसँग भेटवार्ताका लागि समय समेत माग गरेका छन्।

मंसिर १०, २०८२ बुधबार ०८:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।