सबै पालिकामा ‘र्यापिड एक्सन टिम’ बनाउने निर्णय गर्दै रास्वपाले भन्यो- ‘वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिऔँ’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन र द्रूत विकासप्रति समर्पित सम्पूर्ण वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले मुलुकको अर्थ-राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सामूहिक सामर्थ्य आवश्यक पर्ने भन्दै यस्तो आह्वान गर्ने निर्णय गरेको हो।
बैठकमा उच्च संवाद समितिले विभिन्न दल तथा समूहसँग भएको संवादको प्रगतिबारे ‘ब्रिफिङ’ गरेको थियो।
बैठकले सम्भावित राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन सचिवालयले आवश्यक सहजीकरण गर्ने निर्णय समेत गरेको छ।
रास्वपाले आगामी निर्वाचनलाई केन्द्रमा राखेर सांगठनिक जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ।
यसअघि प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई सो जिम्मेवारीबाट मुक्त गर्दै निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ। अब प्रदेश इन्चार्जको भूमिका भने केन्द्रीय सदस्यहरूलाई दिइने पार्टीले जनाएको छ।
संगठन विस्तार र परिचालनलाई तीव्रता दिन रास्वपाले देशका सबै पालिकाहरूमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने भएको छ। यसका लागि सम्बन्धित प्रदेश र जिल्ला संगठनहरूलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।
यस्तै, रास्वपाले आफ्नो कीर्तिपुर नगर समिति विघटन गरेको छ। कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम सो समिति विघटन गरिएको हो।
बैठकले पार्टीका केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रिक्त रहेका पदहरू पूर्ति गर्नका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न केन्द्रीय सदस्यहरूलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
मंसिर १०, २०८२ बुधबार ०७:२५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।