स्वास्थ्य व्यवसायी परिषद्मा विषयविज्ञ राख्न अनुभवी ६ पेशागत संगठनको माग

स्वास्थ्य व्यवसायी परिषद्मा विषयविज्ञ राख्न अनुभवी ६ पेशागत संगठनको माग

काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निर्णय पारदर्शी गर्न माग गर्दै स्वास्थ्यका ६ पेशागत संगठनले आन्दोलनको चेतावनी दिएका छन्।

परिषद्मा विभिन्न विषयको लागी सम्बन्धित विज्ञ नभएको र अनुगमन र मूल्याङ्कन समेत प्रभावकारी हुन नसकेको भन्दै विषयविज्ञ सदस्य लैजान माग गरेका हुन्।

थप विधाका सदस्यहरू प्रत्यक्ष मन्त्रालय पठाउने प्रावधान अनुसार परिषद्मा सदस्यहरू थपघट वा हेरफेर गर्नुपर्ने उनीहरूको माग  छ।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले यस्ता समस्याको दीर्घकालीन सावधान सहित परिषद्मा सदस्यहरू थप नगराए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

२०५३ सालमा स्थापना भएको नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २७ वर्षसम्म पनि एकपटक पनि संशोधन नभएको र २३ वर्ष सम्म पनि परिषद्को चुनाव गर्न नसकेको उनीहरूले जनाएका छन्। तर, माघ १८ मा चुनाव हुने घोषणा भइसकेको छ।

आचारसंहिता अनुगमन, सिपिडी गर्ने, परीक्षा प्रणाली व्यवस्थित गर्नुपर्नेजस्ता काम सदस्यहरूको अभावमा समस्या भएको उनीहरूको जनाएका छन्।

परिषद्मा ऐन अनुसार गणपूरक संख्या समेत नपुगेको र आधिकारिक एसोसिएसनको प्रतिनिधित्व समेत नभएको उनीहरूको गुनासो छ।

६ पेशागत सङ्गठनहरूले स्वास्थ्य व्यवसायी परिषद्मा हालसम्म पनि डेन्टल, ल्याब, पब्लिक हेल्थ, अप्ट्रोमेट्रिकस, सिएमए, फिजियोथेरापिस्ट लगायतका एसोसिएसन र उपभोक्ताको प्रतिनिधित्व नभएको बताएका छन्।

अन्य काउन्सिल परिषद्मा पेशागत एसोसिएसनहरू हुने व्यवस्था समेत भएकोले एसोसिएसहरुको प्रतिनिधित्व यथाशक्य गराउनुपर्ने उनीहरूको माग छ।

यस्तो विज्ञप्ति जारी गर्नेमा नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल जनस्वास्थ्य संघका अध्यक्ष तेज प्रसाद दुलाल, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अध्यक्ष राजेन्द्र खड्का, नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला, नेपाल सिएमए संघका अध्यक्ष रामेश्वर प्रसाद र नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष नीरज देव जोशी छन्।

मंसिर ९, २०८२ मंगलबार २१:४२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।