डिम्ब मुद्दामा जोडिएकी महान्यायाधिवक्ता भण्डारीलाई राजीनामा गराउन जेनजी अगुवाको माग, प्रधानमन्त्री कार्यालयमा बुझाए ज्ञापन पत्र

डिम्ब मुद्दामा जोडिएकी महान्यायाधिवक्ता भण्डारीलाई राजीनामा गराउन जेनजी अगुवाको माग, प्रधानमन्त्री कार्यालयमा बुझाए ज्ञापन पत्र

काठमाडौं : जेनजी आन्दोलनका एक समूहले डिम्ब तस्करीको मुद्दा नचलाउने निर्णय गरेर आफ्नो कम्पनीलाई उन्मुक्ती दिने महान्यायाधिवक्ता सविता भण्डारीमाथि छानबिन र कार्वाहीको माग गरेका छन्।

भण्डारीले आफैँ निर्देशक र लगानीकर्ता रहेको र आफन्त समेत रहेको प्रतिवादीलाई जोगाउन डिम्ब तस्करीमा जोडिएको होप फर्टिलिटीविरुद्धको मुद्दा नचल्ने निर्णय गरेकी थिइन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्याप्त आधार खुलाएर मुद्दा चलाउन गरेको सिफारिस विरुद्ध जिल्ला हुँदै महान्यायाधिवक्ता कार्यालयसम्म पुगेर मुद्दा चलाउन आवश्यक नभएको निर्णय गरेकोबारे उकेराले प्रमाणसहित निरन्तर समाचार प्रकाशित गर्दै आइरहेको छ।

मंगलबार जेनजीको एक समूह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएर ज्ञापन पत्र बुझाउँदै सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन्। ज्ञापन पत्रमा महान्यायाधिवक्ता डिम्ब तस्करीसम्बन्धी कसुरमा आफ्नै लगानीको कम्पनीलाई उन्मुक्ति दिलाएको भन्ने सञ्चारमाध्यमहरूबाट प्राप्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचार साँचो हो भने महान्यायाधिवक्ताले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गरिएको छ।

कर्णाली प्रदेश जेनजी संयोजक  सुप्रियाराज्यलक्ष्मी शाही र जेनजी अगुवा सोम शर्माको हस्ताक्षर रहेको ज्ञापन पत्रमा वर्तमान सरकार भ्रष्टाचार, नातावाद र मनपरितन्त्रविरुद्ध भएको जेनजी आन्दोलनबाट सृजित परिस्थितिमा गठन भएको र जनसरोकारको हकहित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने प्रमुख निकायमै यस प्रकारको क्रियाकलाप हुनु खेदजनक रहेको उल्लेख छ।

होप फर्टिलिटी र एन्जलले नाबालिगहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालेको घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर दुवै प्रालिले बालबालिका सम्बन्धी कानुनको उलंघन गरेको निष्कर्ष निकाल्दै मुद्दा प्रक्रिया अगाडि बढाउन प्रस्तावित राय र  सुझाव दिएको थियो।

तर जिल्ला हुँदै महान्यायधीवक्ताको कार्यालयले कानुन नभएको, पीडितले उमेर ढाँटेको जस्ता तर्क गर्दै मुद्दा नचल्ने निर्णय गरेको थियो। होपमा महान्यायाधिवक्ता भण्डारी सञ्चालक रहेको, उनको छोरी समेत त्यसैमा काम गर्ने गरेको र अर्की सञ्चालक डा. स्वस्ति शर्मा समेत उनको आफन्त रहेकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

उकेराको खोजमा होपमा भण्डारी आफैँ निर्देशक समेत रहेको र आफ्नो कम्पनी र आफन्त जोगाउन पदीय दायित्व दुरुपयोग गरेर प्रहरीले पर्याप्त प्रमाण रहेको प्रतिवेदन दिए पनि मुद्दा नचल्ने निर्णय गराएको खुलेको थियो।

सम्बन्धित समाचार

मंसिर ९, २०८२ मंगलबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।