जेनजी शहीद कमल : सुशासन माग्दा कन्चटमा गोली
पाँचथर : हिलिहाङ गाउँपालिका–२ फलाँटेका कमल भण्डारीले विदेशमा बसे पनि देशको अवस्थाबारे चासो राख्निरहन्थे।परिवारका सदस्यसँगको छलफलमा देशको अवस्थाबारे कुरा भइरहन्थ्यो। भारतसहित कतार र साउदी अरेबियामा ११ वर्ष बिताएका उनी चैतमा नेपाल फर्किएका थिए। तर परिवारसँग लामो समय बस्न पाएनन्।
कमल भदौ २४ मा झापाको बिर्तामोडमा भएको आन्दोलनमा सहभागी थिए। त्यहीँ गोली लाग्यो। सुशासन र भ्रष्टाचारको विरोधमा सुरु भएको जेनजी आन्दोलनको शहीद भए।
एकै पटक भेन्टिलेटरमा
सिंहपुरस्थित सिंहपुर पशुपति माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढेका उनले त्यसपछि पढ्न मन गरेनन्। अनि वैदेशिक रोजगारीमा लागे।
भण्डारी पहिला भारत गए। उनी तीन वर्ष त्यहाँ होटेलमा काम गरेर गाउँ फर्किए। उनी नेपालमा लामो समय बसेनन्। अनि खाडी राष्ट्र कतार गए। कतारमै सवारी सञ्चालन अनुमतिपत्र पाएपछि पाँच वर्ष त्यहीँ बसे।
ताप्लेजुङको सिरिजङ्घाकी शीतल पौडेलसँग २०७६ सालमा उनको विवाह भयो। विदेशमा काम गरेर जोगाएको पैसाले झापाको बिर्तामोड नगरपालिका–१० विराटपोखरमा साढे दुई कट्ठा जग्गा किने। उनी विदेशतिरै लागे।
नाबालक छोरो र श्रीमतीलाई नेपालमै छाडेर उनी साउदी अरेबिया लागे। साउदीमा पनि उनी सवारी चालक नै थिए। श्रीमती शीतलका अनुसार उनको महिनाको आम्दानी राम्रै थियो। आम्दानी राम्रै भएकाले परिवारको दैनिकी राम्रै चलिरहेको थियो।
साउदी अरेबिया गएको तीन वर्षपछि उनी गत चैतमा देश फर्किए। श्रीमती शीतल, छोरा रियान्स र बहिनी मायासमेत झापामै भएकाले उनी पाँचथर नआई बिर्तामोडमा घर बनाउन सुरु गरे। घरको भुइँतलाको ढलान भइसकेको थियो।
काठमाडौंमा भ्रष्टाचार र सुशासनको माग गर्दै भदौ २३ मा सडकमा आएका जेनजी पुस्ताको प्रदर्शनमा गोली चल्दा १९ जनाको मृत्यु भएको खबर पाएपछि उनी पनि आन्दोलित भए। भदौ २४ मा उनी पनि सडकमा उत्रिए।
श्रीमती शीतललाई ‘एकैछिनमा आउँछु’ भनेर हिँडेका कमल रात पर्दा पनि घर फर्किएनन्। फोन पनि उठेन। श्रीमती शीतल अनि बहिनी मायालगायतले रातैभरि मोबाइलमा फोन गरिरहे। कल जान्थ्यो तर उठ्दैनथ्यो।
बहिनी मायाका अनुसार २५ भदौको बिहान १० बजे कमलको फोन उठ्यो तर फोनमा उनी हैन बिएन्डसी अस्पतालका सुरक्षागार्ड बोले।सुरक्षागार्डले ‘तपाईँको बिरामी यहाँ हुनुहुन्छ, आएर लिएर जानु’ भनेपछि परिवारमा रुवावासी चल्यो।
“दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी गराएनन्”, मायाले भनिन्, “दाजुसँगै आन्दोलनमा आएका अरू कसैले पनि हामीलाई जानकारी गराएनन्। हामीले त चिन्ने कुरै भएन। त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ।”
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो। अनि घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएन्डसी अस्पताल पुर्याएका थिए।
कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेन्टिलेटर’मा भएको जानकारी पाए। परिवार अस्पताल पुगे पनि हेर्न पाएनन्।
“दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन। भाउजू बेहोस हुनुहुन्थ्यो”, बहिनी मायाले रासससँग भनिन्, “चिकित्सकले गोली निकाल्न सकेनौँ। आफन्त पनि आउनुभएन भन्नुभयो। तर, त्यतिन्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ।”
कमलको ज्यान जोगिन सकेन। उनी शहिद भए। परिवारका सदस्यले भदौ २८ मा कमलको शवलाई अमरपुर ल्याएर दाहसंस्कार गर्यो।
घर रंग्याउन आउँछु भन्थे, शहिद भए
भदौ २४ को एक साताअघि उनले बुबासँग टेलिफोनमा कुरा गरेका थिए। उनले बुबा गणेशलाई दशैंसम्ममा घरको भुईँ तलाको काम सकाएर गाउँको घर रङ्ग्याउन आइपुग्छु भनेका थिए। तर भदौ २५ गते बिहान गणेशलाई कान्छो छोराले फोन गरेर दाजुलाई गोली लाग्यो भन्ने सुनाए।
गणेशले भने,“ऊ आन्दोलनमा गएको पनि मलाई थाहा थिएन।”
साउदी अरेबियाबाट फर्केपछि उनका बाबुआमाले भेट्न पाएका थिएनन्। उनी झापामै थिए। दशैमा घर गएर भेट्ने योजना थियो। तर नियतिले त्यो मौका दिएन। वृद्ध बा-आमाले एकै पटक छोराको शव देखे।
“दशैंमा आउँछु भन्थ्यो। हामी (बाबुआमा)लाई पनि झापा लैजान्छु भन्थ्यो”, बुबा गणेशले भने, “तर भेट्न समेत नपाई बित्यो। मलाई पाल्ने छोरो नै अस्तायो।”
आमा खगमाया छोराबारे धेरै बोल्न चाहन्नन्। टोलाइरहन्छिन् उनी। छोराको दाहसंस्कार भइसक्यो। तर छोरा छैन भनेर उनले अझैँ विश्वास गर्न सकेकी छैनन्।
“दुई महिना बितिसक्यो। तर अझै पनि सपना हो कि भन्छु”, आमा खगमायाले भनिन्,“खोइ हामीलाई किन यस्तो बज्रपात पर्यो?”
-रवीन्द्र काफ्ले/रासस
मंसिर ९, २०८२ मंगलबार १९:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।