लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठको नियुक्तिको विरोध, खारेजीको माग
बुटवल : लुम्बिनी विकास कोषको सदस्य सचिवमा दिपक श्रेष्ठ नियुक्त भएपछि लुम्बिनीका सरोकारवालाहरूले विरोध जनाएका छन्।
सरकारले मन्त्रीस्तरीय निर्णय (तजबिज) का आधारमा गोरखाका श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेपछि स्थानीय स्तरमा असन्तुष्टि बढेको हो।
लुम्बिनीलाई ‘बिचौलिया’ को जिम्मा लगाएको आरोप लगाउँदै सरोकारवालाहरूले उक्त नियुक्ति बदर गर्न माग गरेका छन्।
‘लुम्बिनी बचाउ महाअभियान’ले कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको समृद्धि र गरिमा जोगाउन नियुक्ति खारेजीको माग गरेको छ।
अभियानका अगुवा रामविकास चौधरीले खुल्ला प्रतिस्पर्धाविनै मन्त्रीको तजबिजमा श्रेष्ठलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाए।
अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनीको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बुझेको योग्य व्यक्तिलाई सदस्य सचिव पदमा नियुक्त गरियोस्।’
अभियानले आफ्नो शान्तिपूर्ण र जिम्मेवारपूर्ण मागलाई बेवास्ता गरिए जनताको साथ लिएर संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
परम्परादेखि नै लुम्बिनीको माटोसँग परिचित व्यक्तिलाई लत्याउँदै गरिने नियुक्तिले स्थानीयको मर्ममा चोट पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
मंसिर ९, २०८२ मंगलबार १४:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।